भारतमा आर्थिक सम्मेलनमा सहभागिता र स्वास्थ्य उपचारको फलोअप बाहेक कुनै राजनीतिक भेटघाट भएन : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको भन्दै नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरु प्रस्तुत गरेको बताएकि छिन् ।

साेमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री डा.राणाले आफू र आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले गत मंसिर २४ गते सो अदालतमा यस विषयमा कुरा उठाएको बताइन् ।

डा.राणाले अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको बताइन् ।

डा.राणाले लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेल र बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी गरेको बताइन् ।

आफूले यस भ्रमणकै क्रममा युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रा र कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध, जलवायु परिवर्तनका कारण नेपालमा परेको असर र नेपालले पाउनुपर्ने जलवायु न्यायका बारेमा कुरा गरेको उनले बताइन् । उनले युरोपेली आकासमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि आग्रह गरेकाे बताइन् ।

परराष्ट्रमन्त्री डा.राणाले जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा पुगेर त्यहाँका वैज्ञानिक एवं अनुसन्धानदाताहरुसँग अन्तक्र्रिया गरी जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र र समुदायमा परेको असरबारे अनुसन्धान गर्न आग्रह गरेकी छिन् ।

पुस २ गते परराष्ट्रमन्त्री डा.राणाले जर्मनीको बर्लिनमा आयोजित समान अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजिबिटी) व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका पक्षमा नेपालले धेरै उपलब्धि हासिल गरेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराएको पनि बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणा जर्मनीको बर्लिनबाट शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी थिइन् । नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेकाे बताइन् ।

डा.राणाले हालसालै निर्माण भएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरुसँग थप उडानका लागि आग्रह गरेको बताएकि छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले यसपटकको आफ्नो भारत भ्रमण सो आर्थिक सम्मेलनमा सहभागी हुने र आफ्नो स्वास्थ्य उपचारको फलोअप रहेकाले कुनै राजनीतिक भेटघाट या कुराकानी नभएको बताएकी छिन् ।

Published : Tuesday, 2024 December 24, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया