काण्ड लागेपछि चार एसपीहरू हेडक्वाटर तानिए, छानबिन शुरू
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले धनुषा, बारा, माेरङ र बाँकेका एसपीहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएकाे छ ।
४ एसपीहरु छानबिनमा तानिएका छन् । एसपीहरुलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको स्रोतले जनाएको छ ।
छानबिनमा तानिनेहरुमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी छन् ।
गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ । बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन् ।
उनीहरुमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको सशस्त्रका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले बताएका छन् ।
धनुषाका एसपी गिरीमाथि केही आर्थिक अनियमितताको आरोपमा उजुरी नै परेको छ। बाँकी तीन जनाको हकमा भने राजश्व गडबढी भन्ने आरोप छ ।
उनीहरुमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रुपमा कसैलाई पनि पठाइएको छैन । छानबिनपछि निर्दोष देखिए उनीहरुलाई नै फिर्ता गरिने र दोषी देखिए कारबाही गरेर नयाँ एसपीहरु पठाउने हेडक्वाटरको तयारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया