ओलम्पिक कमिटीमा सर्वोच्च अदालतको आदेश मान्नुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलम्पिक कमिटीको सन्दर्भमा रुक्मशम्शेर राणाहरूको कमिटीलाई सर्वोच्च अदालतले मान्यता दिएको बताएका छन् ।
आइतवार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘सर्वोच्च अदालतबाट तोकेपछि, सर्वोच्च अदालतले मानिसकेपछि त्यसलाई हामी लागू गर्नुपर्दछ ।’
‘कसले मान्छ, मान्दैन भन्ने कुरा होइन, सर्वोच्च अदालतको आदेश मान्नुपर्छ, लागू पनि गर्नुपर्छ’, उनले भनेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठले ओलम्पिक कमिटीमा बबाल गरेपछि विवाद भइरहेका बेला सभापति देउवाले अदालतको आदेशलाई मान्न आग्रह गरेका हुन् । उनले ओलम्पिक कमिटीमा सर्वोच्च अदालतको आदेश सबैले मान्नुपर्ने भनेका छन् ।
सभापति देउवाले भने, ‘कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन ।’
‘खेलकुदमा युवाहरू बढी हुने भएकाले हामीले जोड दिनुपर्छ’, पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सबै साथीहरू लागेर खेलकुद जगतलाई बढाउनुपर्छ ।’
उनले युवाबिना कुनै पनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताएका छन् । देउवाले कुनै पनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न समस्या हुने बताए ।
उनले खेलकुदमा युवाहरू बढी हुने भएकाले कांग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताएका छन् । खेलकुद स्वस्थ शरीरका लागि महत्वपूर्ण रहेको देउवाले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया