परराष्ट्रमन्त्री डा.राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख व्यक्त गरेकी छिन् ।
सोमबार शोक सन्देश जारी गरेर परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘शान्ति, लोकतन्त्र र मानवअधिकारका लागि उहाँको अतुलनीय योगदान सधैं स्मरणीय रहनेछ ।’
‘दुःखको यस घडीमा उहाँको परिवार र अमेरिकी जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछु’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । २९ डिसेम्बरमा अमेरिकाको जर्जियामा उनको निधन भएको छ ।
कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपति बनेका थिए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति हुन् ।
जिमी सविधानसभा निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका थिए । उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरको निधनमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया