यी दुई अनलाइनलाई कालोसूचीमा राख्ने प्रेस काउन्सिलको निर्णय
काठमाडौं । प्रेस काउन्सिल नेपालले दुई वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।
पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै काउन्सिलले अनलाइन सञ्चारमाध्यम ‘दियोपोष्ट डटकम’ र ‘हेर्दाहेर्दै डटकम’लाई कालोसूचीमा राख्ने निर्णय गरेको पत्रमा उल्लेख छ । यी दुई सञ्चारमाध्यम अब राज्यबाट पाउने सुविधाहरूबाट बञ्चित हुनेछन् ।
पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय काउन्सिलले गरेको छ ।
कालोसूचीमा थपिएका २ अनलाइन सञ्चारमाध्यमलाई काउन्सिसलले वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्र हत्या गरेको, समाचारको नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिंग गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको जनाएको छ ।
काउन्सिलमा दियोपोष्ट डटकमविरुद्ध पछिल्ला ४ महिना यता ८ वटा लिखित उजुरी परेको थियो । त्यसमाथि काउन्सिलले पटक पटक आचारसंहिता अनुकूल काम गर्न निर्देशन दिएको थियो । त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारबाही गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ ।
कालोसूचीमा राखिएको ‘हेर्दाहेर्दै डटकम’ले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो ।
दसैँ यता मात्र काउन्सिलले यी दुई सहित विभिन्न ९ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन भएको ठहर गर्दै कालोसूचीमा राखेको छ ।
आगामी दिनमा गल्ती नदोहोर्याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि तीमध्ये एक सञ्चारमाध्यमको कारबाही फुकुवा समेत भएको थियो ।
प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया