एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई स्थापित गर्न सक्छौं : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताए ।
देउवाले भने, ‘पूर्वका होउन् वा पश्चिमका होउन्, विभिन्न चाहनाहरू होलान्, ती सबैलाई समन्वय गरेर, एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई संसारमा नै स्थापित गर्न सक्छौं ।’
उनले कांग्रेस संस्थापक वीपी कोइरालाले २०१६ सालमा परिकल्पना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
सबै नेपालीबीच राष्ट्रिय एकता तथा मेलमिलाप गराउन नेपाली कांग्रेसले मात्रै सक्ने देउवाले बताए ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको भए पनि नीतिगत नेतृत्व भने आफ्नै दलले गरिरहेको बताएका छन् ।
उनले भने, ‘प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ ।’
सिटौलाले भने, ‘राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर, समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।’
उनले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया