पुरानो जित बचाउँदै कांग्रेसका वडाध्यक्ष थापा निर्वाचित, रास्वपा र माओवादीको जमानत जफत
पूर्वीचौकी । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार मोहन थापा डोटीको पूर्वचौकी गाउँपालिकाको वडा नं. ६ मा विजयी भएका छन् ।
आइतार साँझ आएको अन्तिम नतिजाअनुसार थापा वडाध्यक्ष पदमा विजयी भएका हुन् । थापाले चार सय ६८ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । यो वडा यसअघि पनि कांग्रेसले जितेको थियो । आफ्नो वडालाई कांग्रेसले बचाएको छ ।
थापाका निकटतम प्रतिद्वन्द्वी एमालेका देवबहादुर थापाले ३ सय १ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की वडाध्यक्षकी उम्मेदवार जानकीकुमारी खड्का कुँवरले ३१ मतसहति जमानत जफत गराएकी छिन् । माओवादी केन्द्रका देवीलाल थापाले पनि २६ मत प्राप्तसहित जमानत जफत गराएका छन् ।
मतदानका क्रममा १३ मत बदर भएको छ । कूल एक हजार पाँच सय ९३ मतदाता रहेको वडामा आठ सय ३९ मत खसेको थियो ।
यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया