बंगलादेशका हिन्दुमाथि इस्लामिक कट्टरपन्थीबाट भएको आक्रमणप्रति कांग्रेस नेता भण्डारीको चिन्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद शंकर भण्डारीले बंगलादेशमा अल्पसंख्यक हिन्दु धर्मावलम्वी नागरिकहरूमाथि इस्लामिक कट्टरपन्थी समुदायबाट भएको सांघातिक आक्रमणको श्रृंखलाप्रति गम्भीर चिन्ता जनाएका छन् ।

मंगलबार पूर्वमन्त्री समेत रहेका भण्डारीले विज्ञप्ति जारी गरेर बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दु धर्मालम्वीहरूको सुरक्षा र धार्मिक अस्थाप्रति चिन्ता जनाएका हुन् ।
उनले भने, ‘नेपालको निकट मित्रराष्ट्र बंगलादेशमा विगत केही महिनादेखि निरन्तर रूपमा अल्पसंख्यक हिन्दू धर्मावलम्वी नागरिकहरुमाथि इस्लामिक कट्टरपन्थी समुदायबाट भएको सांघातिक आक्रमणको श्रृंखला रोकिएको छैन ।’

‘इस्लामिक अपराधिक समूहहरूबाट हिन्दू धर्मावलम्वीमाथि हिंसात्मक आक्रमणको कारण कयौं नागरिक हताहत भएका छन्, महिलामाथि बलात्कार, जवरजस्ती धर्म परिवर्तनको घटनामा वृद्धि, राज्य पक्षबाट धर्म गुरू सहित हिन्दुहरू उपर धरपकड र हिन्दु मन्दिरको तोडफोड र विनासको घटनाप्रति नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान गहिरो चिन्ता प्रकट गर्दछ’, नेता भण्डारीले भने ।

नेता भण्डारीले भने, ‘बंगलादेशका आम निहत्था हिन्दुहरूमाथि व्यापकस्तरमा दमन र आक्रमणका घटना भैरहँदा समेत संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, बंगलादेशका छिमेकी सहितका मित्र राष्ट्रहरू अन्देखा गरेर बस्नु चिन्ताको विषय हो ।’

‘बंगलादेशका हिन्दुहरूमाथि कट्टरपन्थी इस्लामिक संगठनहरूबाट डरलाग्दो हिंसा, दमन र आक्रमणको घटना भैरहँदा समेत ऊँकार परिवार भित्र पर्ने ९४ प्रतिशत वैदिक सनातन धर्म र संस्कृतिमा विश्वास गर्ने नागरिकको वसोवास रहेको देश नेपालको सरकार समेत वेखबर जस्तै भएर वस्नु थप दुःखको कुरा हो’, भण्डारीले भने ।

‘हामी बंगलादेश सरकारलाई त्यहाँका अल्पसंख्यक हिन्दुहरूको धार्मिक स्वतन्त्रता र मानवअधिकारको सम्मान गर्दै हिंसा रोक्न प्रभावकारी उपाय अवलम्वन गर्न अनुरोध गर्दछौं’, नेता भण्डारीले भने ।

‘बंगलादेशमा शान्ति, अमनचयन कायम गर्दै प्रजातान्त्रिक अधिकारको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न लगाउन संयुक्त राष्ट्रसंघ, बंगलादेशका छिमेकी एवम् मित्र राष्ट्रहरूबाट बलियो कुटनीतिक पहल गरी बंगलादेश सरकारलाई त्यहाँका अल्पसंख्यक हिन्दुहरूको जीउधनको सुरक्षा गर्न र धार्मिक स्वतन्त्रताको सम्मान गर्न नैतिक दवाव दिन प्रभावकारी भूमिका खेल्न आह्वान गर्दछौं’, भण्डारीले भने ।

‘नेपाल सरकारलाई पनि यस विषयमा गहिरो चासो राख्दै आफ्नो प्रभावकारी कूटनीतिक भूमिका खेल्न जोडदारमा माग गर्दछौं’, कांग्रेस नेता भण्डारीले भनेका छन् ।

Published : Tuesday, 2024 December 3, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया