नेपाल-चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

बेइजिङ । नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो ।

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अभैm पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरेका छन् । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए ।

प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधै तत्पर रहेको बताए । उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको प्रसंशा पनि गरेका छन् ।

उनले चीन–नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने ओलीले बताए ।

सिसिपिआइटीको मुख्यालय बेइजिङ्गमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने उनले बताए ।

चीन–नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने बताएका छन् । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनले बताएका छन् ।

महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक बर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराएका छन् । ‘महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठवटा कानून संशोधन गरेको छ’, अध्यक्ष ढकालले भने, ‘द्विपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ ।’

पहिलोपटक नेपालको क्रेडिट रेटिङ्ग भएको र उक्त रेटिङ्ग दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको उनले बताए । यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको ढकालले बताए ।

अध्यक्ष ढकालले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्ने बताएका छन् ।

महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केवलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानीको बढि सम्भावना देखिएको ढकालले बताएका छन् । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरेका छन् ।

लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरिय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एकजना सदस्यका नाताले मुलुकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने ढकालले बताए ।

ढकालले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिवद्धता पनि जनाएका छन् ।

चीनले यही डिसेम्बर एकदेखि आप्mनो कुटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरूलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरेका छन् ।

सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउदै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताएका छन् । उनले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताएका छन् ।

उनले महासंघ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने बताए ।

Published : Wednesday, 2024 December 4, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया