आईजीपी कुँवरद्वारा मनाङ प्रहरीको नवनिर्मित भवनहरूको उद्घाटन
मनाङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङ परिसरमा नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।
बुधबार आयोजित कार्यक्रममा र्आइजीपी कुँवरले कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको उद्घाटन गरेका हुन् । उनले नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् ।
कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसा–पत्र समेत प्रदान गरेका छन् । उनले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पूर्वाधारहरूको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउन कटिवद्ध रहेको बताए ।
आईजीपी कुँवरले ग्रामीण भेग र शहरी भेगमा विभेद नगरी सुरक्षा प्रदान गर्न आवश्यक पूर्वाधार विकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको समेत बताएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गरेकी छिन् । कार्यक्रममा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले र जिल्ला समन्वय समितिका प्रमुख चीन घलेले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रहरी नायव उपरीक्षक ई.ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।
नेपाल सरकारको नियमित बजेटबाट कुल १२ करोड १० लाख ५४ हजार ३ सय ३१ रूपियाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया