गृहमन्त्रीको नाममा ठगी कार्यमा संलग्न विष्ट धुम्वाराहीबाट पक्राउ
काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख स्वकीय हुँ भन्दै प्रहरी, प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको छ ।
प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताएका छन् । गृहमन्त्रीको नक्कली पीए भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको एसएसपी भट्टराईले बताए ।
गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि सुक्ष्म रूपमा जानकारी लिइरहेको थियो । नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो ।
गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए, सल्लाहाकार हुँभन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया