सरकार संविधानको मर्मअनुसार अगाडि बढ्छ : गृहमन्त्री लेखक
धरान । पत्रकारहरूलाई समाचार लेखेकै आधारमा धम्कीहरू आइरहेका बेला गृहमन्त्री रमेश लेखकले प्रेस स्वतन्त्रतामा गम्भीर रहेको बताएका छन् ।
शुक्रबार धरानमा नेपाली कांग्रेस धरान उपमहानगर समितिको कार्यक्रममा लेखकले भने, ‘सरकार संविधानको मर्मअनुसार अगाडि बढ्छ । संविधानले प्रत्याभूति गरेको प्रेस स्वतन्त्रताको विषयमा हामी गम्भीर छौँ ।’
धरानका नगर प्रमुख हर्कराज राईले पत्रकारविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै पत्रकारले गृहमन्त्रीसमक्ष ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
लेखकले नेपाली कांग्रेस वीपीको विचारमा आधारित रहेको बताए । उनले कांग्रेस बलियो भए लोकतन्त्रलाई बलियो हुने बताए । ‘कांग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ । जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइ राख्नु पर्छ’, उनले भने ।
कांग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको लेखकले बताएका छन् । ‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन्’, उनले भने, ‘यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन ।’
गृृहमन्त्री लेखकले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो ।’
बुधबार पत्रकारले बुझाएको ध्यानकर्षण पत्र बुझ्ने क्रममा गृहमन्त्री लेखकले लोकतन्त्रमा प्रेस पूर्ण रुपमा स्वतन्त्र हुने बताएका छन् ।
पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनकऋषि राई लगायत सम्पूर्ण पत्रकारले शुक्रबार धरानमा गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
धरान उपमहानगरपालिकाकाका नगर प्रमुख राईले पत्रकार गोपाल दाहाल र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई भ्रामक समाचार लेखेको भन्दै सामाजिक सञ्जालमार्फत धम्की दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया