परराष्ट्रमन्त्री डा.राणा नेदरल्यान्ड्स र जर्मनी भ्रमणका लागि प्रस्थान गर्ने
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेदरल्यान्ड्स र जर्मनीको भ्रमणका लागि प्रस्थान गर्ने भएकी छिन् ।
शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मन्त्री डा.राणा शनिबार नेदरल्यान्ड्स र जर्मनी भ्रमणका लागि प्रस्थान गर्ने जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले पहिला नेदरल्यान्ड्सको भ्रमण गर्नेछिन् । डा.राणा नेदरल्यान्ड्सपछि जर्मनीको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री डा.राणा नेदरल्यान्ड्समा इन्टरनेसनल कोर्ट अफ जस्टीस (आईसीजे)मा उपस्थित भई जलवायु परिवर्तनका सम्बन्धमा नेपालको अडान राख्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । डा.राणाले सोमबार आईसीजेमा उपस्थित भई नेपालको अडान राख्नेछिन् ।
जलवायु परिवर्तनको सम्बन्धमा नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा डिसेम्बर २ देखि १२ सम्म सार्वजनिक सुनुवाइ चलिरहेको छ । परराष्ट्रमन्त्री डा.राणा सोही कार्यक्रममा सहभागी हुन नेदरल्यान्ड्स जान लागेकी हुन् ।
आईसीजेमा हुने सुनुवाइमा सहभागी भएपछि परराष्ट्रमन्त्री डा.राणा जर्मनी जाने कार्यक्रम छ । समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन मन्त्री डा.राणा जर्मनी जान लागेकी हुन् ।
जमीनको बर्लिनमा हुने कार्यक्रम डिसेम्बर १७ देखि १८ सम्म हुनेछ । जर्मनीका विदेशमन्त्रीको निमन्त्रणामा डा.राणा सो कार्यक्रममा सहभागी हुन जान लागेकी हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘युरोपमा रहँदा उहाँले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।’
नेदरल्यान्ड्स र जर्मनीको भ्रमणपछि परराष्ट्रमन्त्री डा.राणाको पुस ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया