ग्रासरुटलाई मजवुद बनाउने पार्टीमात्रै बलियो हुन्छ, वडा र टोलमा मिहिनेत गर्नुहोस् : सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन स्थानीय तहमा मिहिनेत गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

शनिबार विराटनगरमा आयोजित नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले स्थानीय तह सबैभन्दा महत्वपूर्ण भएकाले स्थानीय तहमा मिहिनेत गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले तीन तहको संरचनामध्ये सबैभन्दा महत्वपूर्ण संरचना स्थानीय तह भएकाले स्थानीय तहमा बलियो हुने पार्टीमात्रै बलियो हुने बताए ।

देउवाले भने, ‘ग्रासरुटलाई मजवुद बनाउने पार्टीमात्रै बलियो हुने भएकाले स्थानीय तह, वडा र टोलमा पार्टीलाई बलियो बनाउन आजैदेखि मिहिनेत गर्नुहोस् ।’

सभापति देउवाले राजनीतिक स्थायित्वका लागि गठबन्धन महत्वपूर्ण रहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले राम्रो काम गरिरहेको भन्दै प्रशंसासमेत गरेका छन् ।

सभापति देउवाले कांग्रेस ऋणको विरोधी नभएको बताए । उनले अन्य देशहरूबाट ऋण नलिने गरेकाले बिआरआई अन्तर्गतका परियोजनामा ऋण लिन नहुने अडान लिएको बताए ।

सभापति देउवाले भने, ‘ऋण लिनै हुँदैन भन्ने हैन तर, यसअघि विश्वबैंक, एशियाली विकास बैंकलगायतसँग ऋण लिए पनि अन्य देशहरूसँग ऋण नलिएका कारण बिआरआई अन्तर्गतका परियोजना ऋण नभई सहयोग वा अनुदानमात्रै लिनुपर्छ भनेका हौं ।’

सभापति देउवाले महामन्त्री गगनकुमार थापातर्फ लक्षित गरेर धेरै बोल्नेले आफूलाई सिध्याउने तर, कम बोल्नेले अरुलाई सिध्याउने बताएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले सभापति ‘धेरै नबोल्नु हुने भएकाले उहाँको समय पनि लिएर केहि बढी बोलेको’ बताएका थिए ।

Published : Saturday, 2024 December 7, 5:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया