संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसके छ : गृहमन्त्री लेखक
विराटनगर । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउन गरिने बताएका छन् ।
शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको बताए । उनले कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुर्याउनुपर्ने बताए ।
उनले भने, ‘वर्तमान व्यवस्थामाथि आक्रमण हुँदैछ । यो संविधानमाथि आक्रमण हुँदै छ । यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो ।’
गृहमन्त्री लेखकले सरकारले चीनसँग बिआरआई सम्बन्धी सम्झौता कांग्रेससँगको सहमतिमै भएको बताए । उनले बीआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको बताएका हुन् ।
उनले भने, ‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआई सम्बन्धि थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन ।’
गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने आवश्यक रहेको बताए । उनले बिआरआईमा ऋण लिने कुरा नभएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया