शहरी विकासमन्त्री समेत रहेका निर्माता राणाद्वारा ‘खलनायक २’ निर्माणको घोषणा

काठमाडौं । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री समेत रहेका निर्माता रोज राणाले चलचित्र निर्माणको घोषणा गरेका छन् ।

करीव १५ वर्ष अगाडि निर्माण भएको चलचित्र ‘खलनायक’को दोस्रो शृंखला निर्माणको हुनेछ । निर्माता राणाले गत शुक्रबार चलचित्र विकास बोर्डामा ‘खलनायक २’ दर्ता गराएका छन् । निर्माता एवम् मन्त्री राणाका अनुसार चलचित्र एक्सन र थ्रिलरमा केन्द्रित रहनेछ ।

मौनता श्रेष्ठले चलचित्रको कथालाई अन्तिम रुप दिइरहेका छन् । चलचित्रको निर्देशन चन्द्रराज पन्तले गर्नेछन् । चलचित्रलाई माघ महिनादेखि छायांकन शुरू गर्ने गृहकार्य भइरहेको शहरी विकासमन्त्री समेत रहेका निर्माता राणाले बताए । चलचित्रलाई दशैंसम्म रिलिजको लक्ष्य राखिएको छ ।

१५ वर्ष अगाडि बनेको ‘खलनायक’मा अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको शीर्ष भूमिका रहेको थियो । ‘खलनायक’बाट राजेश हमालले पुरस्कार समेत पाएका थिए ।

चलचित्र ‘खलनायक २’मा कलाकारहरूका विषयमा टुङ्गो लागेको छैन । निर्माण पक्षले कलाकारहरू क–कसलाई अभिनय गराउने भन्नेबारेमा आन्तरिक गृहकार्य गरिरहेका छन् । ‘खलनायक २’ मा राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती लगायतका अभिनेता दोहोरिन्छन् वा दोहोरिँदैनन् केही भनिएको छैन । गीतकार दयाराम पाण्डेले केही गीत लेख्नेछन् ।

चलचित्रको क्षेत्रमा राणा सफल निर्माता मानिन्छन् । राणाले निर्माण गरेको ‘खलनायक’ सुपरिहिट चलचित्र मानिन्छ । राणाले निर्माण गरेको ‘दादागिरी’ पनि सफल चलचित्र मानिन्छ ।

Published : Sunday, 2024 December 8, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया