रातोघरको बयानबाट डराए महानिर्देशक अधिकारी, पालो अब पूर्वमन्त्रीको, फाइल बोकेर हिँडे
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएपछि हतास र डराएको अवस्थामा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एमाले र माओवादी केन्द्रका नेताहरूले धोका दिएको भन्दै आक्रोश पोखेका छन् ।
आइतबार दिनभरि नक्सालस्थित अख्तियारको ‘रातोघर’मा बयान दिएर फर्के लगत्तै अधिकारी ज्यादै हतास देखिएको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ । महानिर्देशक अधिकारीसँग अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको अनियमितता र भ्रष्टाचारका विषयमा केन्द्रित रहेका बयान लिएको थियो । पोखरा विमानस्थलमा १८ अर्ब घोटाला भएको आशंका अख्तियारले गरेको छ ।
महानिर्देशक अधिकारीले आफूले चिने जति अधिकांश नेताहरूलाई एकएक गरेर फोन गरेका थिए । अधिकारीले फोन गरेर नेताहरूसँग हारगुहार गरेको प्रत्यक्षदर्शी एक कर्मचारीले बताए ।
एमाले र माओवादीको नेतालाई मागे जति पैसा दिंदी पनि केहि मद्दत नगरेको भन्दै महानिर्देशक अधिकारीले फोनमा असन्तुष्टि पोखेको स्रोतले जनाएको छ । मन्त्रीको भान्सादेखि निजी खर्च र विदेशमा जाँदा सपिङ्ग समेत गराउँदा पनि आफूलाई खेदेको भन्दै अधिकारीले गुनासाहरू गर्ने गरेको चर्चा छ ।
महानिर्देशक अधिकारीले विशेष गरेर गंगा दाहाल र रेणु दाहालले धोका दिएको भन्दै गुनासो गरेको चर्चा प्राधिकरणभित्र छ ।
महानिर्देशक अधिकारीसँग अख्तियारले बयान लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार र अनियमिततामा तीव्र गतिमा अनुसन्धान अगाडि बढाएपछि प्राधिकरणका कर्मचारीहरूले खुसी व्यक्त गरेका छन् । अख्तियारले विशेष अदालतमा महानिर्देशक अधिकारीविरुद्ध आरोप पत्र दायर गरेको दिन झक्कले खसी ढाल्ने तयारी प्राधिकरणका कर्मचारीहरूले गरेको चर्चा छ ।
यसैबीच, अख्तियारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि बोलाएको छ । सोमबार पूर्वमन्त्री भट्टराई अख्तियार पुगेको उच्च स्रोतले जनाएको छ । भट्टराईले आफूलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे धेरै जानकारी नरहेको भन्दै फाइल अध्ययन गरेर अर्को दिन बयान दिने भनेर बाहिरिएको बुझिएको छ ।
अख्तियारबाट बाहिरिएपछि पूर्वमन्त्री भट्टराई सिधै प्राधिकरणको कार्यालय पुगेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारेका सबै फाइलहरूको फोटोकपी बोकेर हिँडेको एक कर्मचारीले बताए । यस विषयमा प्रतिक्रिया लिन पूर्वमन्त्री भट्टराईसँग फोनमा सम्पर्क गर्दा फोन उठेन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया