गृहमन्त्री लेखकले दिए सहकारी ठगका अभियुक्त लामिछानेलाई जवाफ
वीरेन्द्रनगर । सहकारी ठगका अभियुक्त रवि लामिछानेले प्रहरी हिरासतमा मानवअधिकार हनन् भयो भनेर बबाल गरिरहेका बेला गृहमन्त्री रमेश लेखकले कसैको मानवअधिकार हनन् नभएको बताएका छन् ।
मंगलवार प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले रास्वपाका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेको विषयमा लक्षित गर्दै मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको बताए ।
उनले भने, ‘सरकार हरेक मान्छेको मानवअधिकार रक्षाका लागि गम्भीर छ । प्रत्येक व्यक्तिको मानवअधिकारको रक्षा हुन्छ । कसैको मानवअधिकारको हनन् भएको छैन ।’
गृहमन्त्री लेखकले लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको बताउँदै त्यसबारे अनुसन्धान भइरहेको बताए । उनले प्रश्न गर्दै भने, ‘रविजीमात्र हैन तमाम मान्छेलाई अनुसन्धान भइरहेको छ । तर, कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ । के यो सहि हो त ?’
गृहमन्त्री लेखकले भनेका छन्, ‘अनुसन्धानलाई प्रभावित गर्ने, सडकमा आएर विधिको शासन उलंघन गर्नु गलत हो ।’
लेखकले ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो नभएको बताएका छन् । प्रहरीको कमजोरी भएको छभने चितवनबाट आउँदा त्यो हेर्न सकिने बताएका छन् ।
गृहमन्त्री लेखकले संविधानको रक्षा र कार्यान्वयन गर्ने, दीगो शान्ति र समृद्धि ल्याउने प्रमुख विषयमा अहिलेको सरकारले काम गरिरहेको बताए ।
‘सरकारलाई स्थायित्व दिएर संविधानले गरेका व्यवस्थालाई सुदृढ गर्दै जाने हाम्रो लक्ष हो, सोही अनुसार हामीले काम गरिरहेका छौं’, उनले भने, ‘संविधान विरोधी गतिविधि निस्तेज गर्ने कुरामा हामी सबै लाग्नुपर्छ ।’
यो संविधानलाई असफल गर्ने छुट कसैलाई नभएको गृहमन्त्री लेखकले बताएका छन् । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । मन्त्री बदलिने कुरा हल्ला मात्र भएको उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया