प्रचण्डले सहकारी ठगलाई चोख्याउन बोकेपछि माओवादीका नेता न्यौपानेद्वारा विरोध
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगका अभियुक्त पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको बचाउमा बोलिरहेका बेला लेखनाथ न्यौपानेले आक्रोश पोखेका छन् ।
माओवादीका नेता न्यौपानेले सामाजिक सञ्जालमार्फत सहकारी ठगलाई चोख्याएर बोक्नु परेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले लेखेका छन्, ‘हाम्रो पार्टीका दुःख । सत्तापक्षको बदमासीका विरुद्ध बोल्नु परेको छ । प्रतिपक्षी सहकारी ठगलाई चोख्याएर बोक्नु पनि परेको छ !’
माओवादीका अध्यक्ष दाहालले सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेको बचाउमा सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । प्रहरीले कानून बमोजिम लामिछानेविरुद्ध अनुसन्धान चलाइरहेको छ ।
प्रहरीको अनुसन्धानलाई प्रभावित तुल्याउने गरेर दाहालले सार्वजनिक अभिव्यक्ति दिएपछि माओवादीकै नेता न्यौपानेले सहकारी ठगलाई चोख्याउनुपर्ने बाध्यता रहेको बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया