उपनिर्वाचनमा तेस्रो बनेपछि गम्भीर बन्यो एमाले, समग्र राजनीतिको समीक्षा

काठमाडौं । एमालेले मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोप्रति गम्भीर बन्नुपर्ने अवस्था आएको जनाएको छ ।

मंगलबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले सहरी जनमतलाई पार्टीसँग आबद्ध गर्न नसकेको निष्कर्ष निकालिएको बताए ।

उनले भने, ‘मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरेका छौँ । समग्रमा एमालेले थप उपलब्धि हाँसिल गरेको छ । हामीले जितेका सात वडाहरूमा पद रिक्त भएको थियो, सबै गरेर ४२ पदमा रिक्त थियो ।’

‘एउटा अध्यक्ष, दुई उपाध्यक्षसहित समग्रमा ८ सिटमा विजय हाँसिल गरेका छौँ । तर, यति हुँदाहुँदै पनि यो परिणामलाई गम्भीरतापूर्वक लिएका छौँ’, ज्ञवालीले भने, ‘खासगरी कीर्तिपुर नगरपालिका, १६ नम्बर वडा, केही वडाहरू जस्तो सहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ । त्यो ढंगले परिणाम आउन नसकेको कुराप्रति गम्भीर भएका छौँ ।’

सहरी मतदातालाई पार्टीसँग जोड्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि ज्ञवालीले बताए । उनले भने, ‘अझ बढी सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेका छौँ’, उनले भने, ‘यो दुई वर्षको बीचमा प्रायः जुन पार्टीले जुन ठाउँमा जितेको थियो, त्यहाँ जनमत परिवर्तन भएको देखिन्छ । मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएका छौँ ।’

स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र एमाले तेस्रो बनेको थियो । एमालेले उपनिर्वाचनमा भएको पराजयलाई गम्भीर रुपमा लिएको छ ।

एमालेले सामाजिक सञ्जालको दुरुपयोग गर्दै मिसइन्फरमेसन र डिसइन्फरमेसनको माध्यमबाट जनतामा निरासा फैलाउने, भ्रम फैलाउने र कतिपय राजनीतिक दलका नेताले आफ्नो क्षणिक स्वार्थका निम्ति त्यस्ता कुरालाई बढावा दिने गरेको देखिएको जनाएको छ ।

एमालेले चीन भ्रमणमा प्रधानमन्त्री केपी ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु सफलता भएको पनि निष्कर्ष निकालेको छ ।

एमालेले भनेको छ, ‘प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमण, त्यसमा भएको सम्झौता, त्यसले नेपाल–चीन सम्बन्धमा पार्ने प्रभावको बारेमा समीक्षा गरेका छौँ । भ्रमण निकै सफल भएको निस्कर्ष निकालेका छौँ ।’

‘अन्य सम्झौताका अतिरिक्त बिआरआईमा जुन सम्झौता भएको छ, त्यो नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निस्कर्ष निकालेको छ’, ज्ञवालीले भने, ‘सत्तामा रहेका प्रमुख पार्टीहरूको बीचमा जुन ढंगको समझदारी बनेको छ, यसले बिआरआईलाई निस्कर्षमा पुर्‍याउन त सहयोग गरेको छ नै भोलिका दिनमा परराष्ट्र नीति र बाह्य सम्बन्ध सञ्चालन गर्दा एउटा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको छ ।’

एमालेले दुवै देशले भएका सहमतिहरुको दृढतापूर्वक, शीघ्र, प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने खाँचो औंल्याएको जनाएको छ ।

Published : Tuesday, 2024 December 10, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया