खानेपानीमा बजेट अभाव छ, बजेट व्यवस्थापन गरेर समस्या समाधानमा लाग्छु : मन्त्री राणा

बुटवल । लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकासमन्त्री रोज राणाले लुम्बिनी प्रदेशका १२ जिल्लामा खानेपानी र शहरी विकास भवन सडक क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्ने बताएका छन् ।

मंगलबार रुपन्देहीको वेलवास खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. १३ का उपभोक्तालाई खानेपानी आपूर्तिका लागि निर्माण हुन लागेको आयोजनाको शिलान्यास गर्दै मन्त्री राणाले ‘एक घर एक धारा’को अभियानलाई पूरा गर्ने बताए । उनले प्रदेश सरकारले आफ्नै खानेपानी ल्याब स्थापना गर्न कपिलवस्तुमा ल्याब खोल्न लागेको बताएका छन् ।

चालु आर्थिक वर्षमा १६८ खानेपानी आयोजना सम्पन्न गर्ने र आयोजनाबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य प्रदेश सरकारले राखेको मन्त्री राणाले बताए ।

मन्त्री राणाले भने, ‘खानेपानी मन्त्रालयमा बजेट अभाव छ, त्यसैले काम गर्न केही कठिनाइ छन् । आवश्यक बजेट व्यवस्थापन गरेर समस्यामा समाधानमा लाग्नेछु । मन्त्रालयलाई सफल बनाउन सबै कर्मचारी जनप्रतिनिधिबीच समन्वय र सहकार्य आवश्यक रहेको छ ।’

यो टंकी १ करोड ८५ लाख २९ हजारको लागतमा निर्माण हुन लागेको छ । ओम/सुशिम कम्पनीले ठेक्का प्रक्रियाबाट निर्माण गर्ने जिम्मा पाएको छ । आयोजनाको कुल लागत १४ करोड ३९ लाख ४२ हजार छ । जसभित्र ६ किलोमिटर पाइप बिच्छाइनेछ । यसले १ हजार ५ सय घरधुरीलाई स्वच्छ खानेपानीको आपूर्ति गर्नेछ । दैनिक १० लाख ८० हजार २६४ लिटर पानीको आवश्यक पर्ने मन्त्री राणाले बताए ।

कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष पुरूषोत्तम बस्याल, उपाध्यक्ष जीवलाल पन्थी, सचिव जीवनाथ अर्याल, कोषाध्यक्ष शान्ता घिमिरे, सहसचिव भरत गौतम लगायत सम्पूर्ण समितिका पदाधिकारीले भनाइ राखेका थिए ।

नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको स्थापनापछि वेलवास नयाँगाउँमा खानेपानीको सुलभ आपूर्ति भइरहेको छ । यसले पनि आगामी दिनमा माग अनुसार आपूर्ति गर्न नसक्ने महसुस भइरहेको अवस्थामा यो ट्याङ्की निर्माणले कम्तिमा २०/२५ वर्षलाई स्वच्छ खानेपानी उपलब्ध हुने विश्वास लिएको खानेपानी मन्त्रालयका महाशाखा प्रमुख गुणानिधि पोख्रेलले बताए ।

Published : Wednesday, 2024 December 11, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया