आफैले अध्ययन गरेको विद्यालयमा प्रधानमन्त्री ओली, खुसीले गदगद
आठराई । आफैले अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयमा आएपछि प्रधानमन्त्री केपी ओलीले खुसीले गदगद भएका छन् ।
बुधबार तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको विद्यालयको कार्यक्रममा ओली सहभागी भएका छन् । बेलाबेला ओली आफ्नो पूर्ख्यौली घर रहेको तेह्रथुम जिल्लामा जाने गरेका छन् ।
ओलीले विद्यालयको नवनिर्मित १८ कोठाको भवनको उद्घाटन पनि गरेका छन् । प्रणामी माध्यमिक विद्यालयमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रारम्भीक शिक्षा लिएका थिए ।
प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरेका छन् । प्रधानमन्त्री ओलीले विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका थिए । विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले प्रणामी माध्यमिक विद्यालयको विद्यार्थी देशको प्रधानमन्त्रीका रुपमा देख्न पाउँदा निकै खुसी लागेको बताए ।
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा विद्यालयको भवन निर्माण भएको हो । भवन निर्माणमा फाउण्डेसनले ४ करोड ४९ लाख ६० हजार दिएको छ । कोशी प्रदेश सरकारले २१ लाख ४० हजार बजेट दिएको छ । आठराई गाउँपालिकाले ६९ लाख सहयोग गरेको छ ।
पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।
प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको प्रधानाध्यापक घिमिरेले बताए ।
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, प्रधानमन्त्री ओलीले आफ्नै जन्मघर आठराई– ४ ईबा तेह्रथुममा पत्नी राधिका शाक्यसँग केही समय बिताएका छन् । त्यस क्रममा बुहारी र भाई पनि साथमा रहेका थिए । ओलीले भने, ‘हामीले तीन कक्षासम्म पढेको प्रणामी माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी भएका बेला एकैछिन् जन्मघर पनि पुगियो । बाल्यकालको धेरै सम्झना आयो । धेरै साथीहरूसँग भेट भयो, खुसी लाग्यो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया