अख्तियारद्वारा भालुबाङको ज्वालामाई गणका ईन्स्पेक्टर कुँवरविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालका तत्कालीन ईन्स्पेक्टर छविलाल कुँवरविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगपत्र दायर गरेको छ ।

बुधबार अख्तियारले विशेष अदालतमा कुँवरविरुद्ध अभियोगपत्र दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ । शैक्षिक प्रमाणपत्रको विषयमा विवादमा परेपछि कुँवरले पदबाट राजीनामा दिएका थिए । कुँवर सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण हेडक्वाटर ज्वालामाई दाङमा कार्यरत थिए ।

सशस्त्र प्रहरी निरीक्षक पदबाट राजीनामा दिएका कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनको मागसहित अख्तियारमा उजुरी निवेदन परेको थियो ।

कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको अभियोग लागेको छ ।

कुँवरलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९(२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2024 December 11, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया