पर्यटन बोर्ड र भारतीय दूतावासको सहकार्यमा पहिलो भारत–नेपाल पर्यटन सम्मेलन
काठमाडौं । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पहिलो भारत–नेपाल पर्यटन सम्मेलन सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको सम्मेलनमा भारत र नेपालबीच सर्किट टुरिजम कार्यान्वयनलाई प्रोत्साहन र उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५ को प्रवर्द्धन गर्नेबारे कार्यक्रम केन्द्रित रहेको दूतावासले जनाएको छ ।
कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसँगै कार्यबाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तव र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गरेका थिए ।
राज्यमन्त्री चौधरीले नेपालको पर्यटनमा स्थलमार्गबाट हुने अन्तरदेशीय पर्यटनको ठूलो योगदान रहेको बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सबैभन्दा ठूलो स्रोत भारत रहेको बताए । उनले पर्यटन बोर्डले भारत–नेपाल पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न पहलहरूबारे बताए ।
कार्यवाहक राजदूत श्रीवास्तवले भारत र नेपालबीच उच्च पर्यटन प्रवाहलाई बढावा दिइरहेको भौतिक र डिजिटल कनेक्टिभिटीमा भएको विकासबारे उल्लेख गरेका छन् ।
श्रीवास्तवले नेपालका र भारतका छिमेकी राज्यमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरूको प्रवर्द्धनमार्फत् भारत–नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षले निरन्तर संयुक्त प्रयास गर्नु पर्ने बताए ।
सम्मेलनमा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटरको सहभागीता थियो । विशेषगरी स्थलमार्ग हुँदै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरले दुवै देशका पर्यटकका लागि सम्भावित यात्रा योजनाबारे विचार विमर्श गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया