झिम्रुक किटघाट पुलका लागि निर्वाचनमा गरेकाे प्रतिवद्धता पूरा भयाे : शहरी विकासमन्त्री राणा

प्यूठान । लुम्बिनी प्रदेशका सहकारी विकास तथा खानेपानीमन्त्री रोज राणाले निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् ।

बुधबार प्यूठानको झिम्रुक गाउँपालिकाको किटघाट पुलको शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले किटाघाट पुल बनाउने भनेर आफूले तत्कालीन समयमा प्रतिवद्धता जनाएको बताए । उनले भने, ‘निर्वाचनमा मैले जितेर गएँ भने किटघाटको बनाउँछु भनेको थिएँ । आज पुल शिलान्यास भएको छ । मेरो प्रतिवद्धता पूरा भएको छ ।’

झिम्रुक गाउँपालिकाको उपाध्यक्ष प्रमोद पोखरेलले तत्कालीन समयमा फाइल बोकेर हिँडेका बेला मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र तत्कालीन भौतिक मन्त्री धर्मबहादुर चौधरी रहेका बेला पुलको योजनाको बजेट परेको मन्त्री राणाले स्मरण गरे । उनले पुल ठेक्का लाग्ने बेला बहुवर्षीय बनाउने भनेर भौतिकमन्त्री भूमेश्वर ढकालमार्फत बहुवर्षीय बनाएर ठेक्का लागेको बताए । उनले पुल निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

मन्त्री राणाले भने, ‘हामीले समाजमा कमिटमेन्ट गरेका हुन्छौँ । हामीसँग जनताले अपेक्षा गरेको छ । नेताले के गरेको छभनेर जनताले हेरेको छ । बोलेको कुरा कांग्रेसले पूरा गर्छ ।’

मन्त्री राणाले आफ्नै कार्यकालमा बागदुलादेखि गौमुखसम्म कालोपत्रे सडक बनाउने बताएका छन् । उनले सडक कालोपत्रे नहुँदा समस्या भएको बताए ।

यसैबीच, झिमरुक गाउँपालिकाको वडा नं. ७ किटघाटमा बुधबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र शहरी विकास तथा खानेपानीमन्त्री राणाले संयुक्त रुपमा झिमरुक नदीमाथि बन्ने पक्की पुलको शिलान्यास गरेका हुन् ।

मन्त्री राणाको विशेष पहलमा लुम्बिनी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको छ । ४ करोड ८७ लाख ६३ हजार ४ सय ४३ रुपियाँको लगानीमा पुल निर्माण हुन लागेको छ ।

पूर्वाधार विकास कार्यालय प्यूठानका अनुसार आँसु निर्माण सेवा बिजुवारसँग असार ११ गते पुल निर्माणको सम्झौता भएको छ । आगामी २०८२ पुस १० गतेसम्म पुल निर्माण सक्नुपर्ने सम्झौतमा उल्ल्लेख छ ।

निर्माण व्यवसायी बालाजु श्रेष्ठले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

पुल शिलान्यास कार्यक्रममा प्यूठानका लुम्बिनी प्रदेश सदस्यद्वय तुलसीराम शर्मा, नीमा गिरीसहित स्थानीय र सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो । शहरी विकास तथा खानेपानीमन्त्री राणाको विशेष पहलमा झिम्रुक नदीमा पुल बन्ने भएपछि स्थानीय हर्षित भएका छन् ।

Published : Thursday, 2024 December 12, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया