प्रचण्डका कारण बैठक बिथोलियो, पूर्वउपराष्ट्रपति र पूर्व प्रदेश प्रमुखलाई पदाधिकारी बनाउने तयारी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धादिङ र चितवनतिर अलमलिएपछि स्थायी समितिको बैठक बिथोलिएको छ ।

बिहीबार काठमाडौंमा स्थायी समितिको बैठक बस्ने भनेर नेताहरूलाई बोलाइएको थियो । दाहालले कार्यव्यस्तता रहेको भन्दै चितवन र धादिङका कार्यक्रमहरूमा अल्मलिएपछि बैठक प्रभावित भएको एक नेताले बताए । बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । स्थायी समितिको बैठक शुक्रबार बस्नेछ ।

मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बीआरआई सम्झौंता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

बैठकले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउन स्थायी समितिको बैठक बोलाइएको नेताहरूले टिप्पणी गरेका छन् ।

Published : Thursday, 2024 December 12, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया