सहकारी ठगका अभियुक्त लामिछाने अदालतमा सूर्य थापाविरुद्ध बरबराए, ५ दिन थुनामै रहने

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत, कास्कीले पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको थियो ।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठग, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको छ । लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

यसैबीच, लामिछानेले आफूलाई हिरासतमुक्त गरिदिन न्यायाधीशसँग आग्रह गरेका छन् । उनले आफूलाई हिरासतमुक्त गर्दा न्यायाधीशलाई पनि गर्व हुने बताए ।

इजलासमा लामिछानेका कुरा सुनेपछि न्यायाधीश पौडेलले अभियोग पत्र आउँदा कति संलग्नता छभन्ने हिसाब आउने बताएका थिए ।

लामिछानेले इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिका सभापति सूर्य थापाको आलोचना गरेका छन् । थापाले मिडियामा बोलेअनुसार नै अनुसन्धान भइरहेको लामिछानेले बताए ।

सहकारी ठगका अभियुक्त लामिछानेले केही समर्थकलाई निरन्तर प्रदर्शन गर्न लगाइरहेका छन् । लामिछाने र उनका केही समर्थकले अनुसन्धानलाई प्रभावित पार्ने हर्कतहरू गरिरहेका छन् । न्यायालय र प्रहरी प्रशासनलाई लामिछानेले दवावमा राख्न खोजेको भनेर आलोचना भएको छ ।

Published : Thursday, 2024 December 12, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया