अभियुक्त रविको अनुसन्धान अन्तिमतिर जान लागेका बेला जीबीका कारण तनाब
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीको अभियोगमा दुई महिनादेखि प्रहरी हिरासतमा रहेका बेला गितेन्द्रबाबु राई (जीबी)को पासपोर्ट रोक्का भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पत्राचार गरेपछि राहदानी विभागले राईको पासपोर्ट रोक्का गरिदिएको हो । लामिछाने र राई गोर्खा मिडिया नेटवर्क प्रा.लि.का पार्टनर हुन् । गोर्खा मिडियामा लामिछाने प्रबन्ध निर्देशक र पार्टनर थिए । राई अध्यक्ष रहेका थिए ।
लामिछानेमाथिको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान अन्तिम चरणमा पुगेका बेला राईको राहदानी रद्द भएको छ । राईलाई पक्राउ गरेर ल्याउनेवित्तिकै लामिछानेविरुद्ध थप तथ्यहरू बाहिर आउनेछन् । त्यसपछि लामिछानेलाई झन् तनाव थपिनेछ ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले राईको पासपोर्ट केही समयअघि नै रोक्का भएको बताइन् । राईको बैंक खाता, मालपोत लगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिसकेको काफ्लेले बताएकी छिन् ।
वैशाख ३० गते पनि राईको पासपोर्ट रोक्का वा रद्द गर्न भनेर कास्की प्रहरीले राहदानी विभागमा पत्राचार गरेको थियो । विभागले त्यतिबेला राईको पासपोर्ट रद्द गर्न नमिल्ने जनाएको थियो ।
राहदानी ऐन, २०७६ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा नमिल्ने निष्कर्ष थियो । जिल्ला अदालत कास्कीले पनि सहकारी ठगीमा मात्रै रोक्का गर्न नमिल्ने भन्दै स्वीकृति दिएको थिएन । पछिल्लो समय सम्पत्ति शुद्धीकरण र संगठित अपराध समेतमा जोडिएपछि राईको पासपोर्ट रोक्का गर्न बाटो खुलेको छ ।
उक्त ऐनको दफा १२ मा राहदानी जारी नगर्ने वा रोक्का राख्न सकिने अवस्थाबारे खुलाइएको छ । राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवाद सम्बन्धी कसूरको अभियोमा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न सकिने भनिएको छ ।
राहदानी रोक्का भएपछि राईलाई स्वदेश फर्काउन र अनुसन्धान अघि बढाउन सहज बनाउने अपेक्षा गरिएको छ । राईविरुद्ध २०७९ साल माघ १३ मा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो । यो प्रक्रिया पर्याप्त नभएको भन्दै प्रहरीले २१ फागुनमा रेड नोटिस जारी गर्न अनुरोध गरेको थियो । इन्टरपोलको रेड नोटिस जारी भएको झन्डै एक वर्ष भइसक्दा पनि राई पक्राउ पर्न सकेका छैनन् ।
राईलाई विभिन्न पाँच सहकारीको बचत रकम अपचलन गरेको आरोप छ । राईले सञ्चालन गरेका स्वर्णलक्ष्मी, सूर्यदर्शन, सहारा चितवन, सानोपाइला, र सुप्रिम सहकारीमा बचतकर्ताको अर्बौं रुपियाँ ठगी गरेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया