राक्सिराङमा २२ वर्षीय युवकको शव फेला, ३ जना पक्राउ

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ५ इन्चराङमा अन्दाजी २२ वर्षीय युवक समिर सुनारको शव फेला परेको छ ।

शुक्रबार बिहान सवा ६ बजेतिर राक्सिराङ गाउँपालिका वडा नं. ५ इन्चराङस्थित चैनपुरबाट काकडा जानेभित्री सडक खण्डमा सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।

शव फेला परेको खबर पाउनसाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको थियो । मृतकको टाउकोमा चोट देखिएको र नाक, मुखबाट रगत बगेको अबस्थामा रहेको एसपी खड्काले बताए ।

सुनारको शव फेला परेको घटनाको अनुसन्धानको लागि ३ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको एसपी खड्काले बताए ।

सुनार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ८ शिखरपुर ठेगाना भई हाल बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २२ अमलेखगंज बस्दै आएका थिए ।

मृतक सुनारको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गरेका थिए । मृतक सुनारको शव हेटौँडा अस्पतालमा रहेको छ ।

Published : Friday, 2024 December 13, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया