रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले अदालतको आदेशअनुसार नै लामिछानेमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ ।’

सहकारी ठगका अभियुक्त लामिछानेमाथि चितवनमा प्रहरीले मानवअधिकार उल्लंघन गरेको भनेर आक्षेप लगाइरहेका बेला गृहमन्त्री लेखकले लामिछानेको मानवअधिकारको हनन् नभएको बताएका हुन् ।

गृहमन्त्री लेखकले भने, ‘सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ ।’ जनताले दुःख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भीड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको लेखकले बताए ।

सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने लेखकले बताए । लेखकले लोकतन्त्रमा भीडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताए ।

उनले मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो’, लेखकले भने ।

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने बताएका छन् ।

संविधान संशोधन तथा राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यकता महसुस भएकाले जनचाहनाअनुसार काम हुने नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री लेखकले बताएका छन् ।

Published : Saturday, 2024 December 14, 5:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया