तल्लो तहका प्रहरीलाई १६ वर्षमा पेन्सन, जथाभाबी बोल पेन्सन रोक्का
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको तल्लो तहका प्रहरीलाई १६ वर्षमा पेन्सन दिने प्रावधानसहितको विधेयक पारित भएको छ ।
शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको विधेयक समिति बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय गरेको छ । वरिष्ठ हवल्दारसम्मका प्रहरीले १६ वर्षमा पेन्सनसहित स्वेच्छिक अवकास लिन पाउनेछन् । असइ, सइ र वरिष्ठ सइले १८ वर्ष जागिर अवधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाउनेछन् ।
उनीहरूले पेन्सन भने जागिर शुरु गरेको २० वर्ष अवधि पुगेपछि मात्र पाउनेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवाहद हट्ने भएको छ । विधेयक समितिले पास गरेको दुवै प्रहरीसम्बन्धी विधेयक संसदमा लैजाने सरकारको तयारी छ ।
अवकाशप्राप्त प्रहरी अधिकारी देश तथा संगठनविरोधी गतिविधिमा लागे पेन्सनलगायतका सुविधा रोक्ने प्रावधान दुवै प्रहरीका ऐनको मस्यौदामा राखिएको छ । पूर्वप्रहरी कर्मचारीलाई अनुशासनमा राख्न नयाँ व्यवस्थाको प्रस्ताव राखिएको छ ।
कुनै कर्मचारीले हातहतियारको दुरुपयोग गरेमा जन्मकैद सजाय हुने प्रावधान विधेयकमा राखिएको छ । हवल्दारसम्मलाई १६ वर्षमा र असइ, सइ र वरिष्ठ सइलाई १८ वर्ष सेवावधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाशको प्रावधान समेटिएको छ । ईन्स्पेक्टर भर्नाको अधिकतम उमेर २७ वर्ष बनाइएको छ ।
हाल ऐन कार्यान्वयनमा आएको पहिलो वर्ष ३० वर्षमा ६ महिना थप्ने, दोस्रो वर्ष एक वर्ष र तेस्रो वर्षमा दुई वर्ष अवधि थप गरी त्यसपछि सेवाहद हटाउने प्रस्ताव गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया