सहकारी र बैंक ठगहरूका कारण मन्दिरमा घण्टी बज्दा पनि डर लाग्छ : तरुण अध्यक्ष गुरुङ
भोजपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारी र बैंक ठगहरूका कारण मन्दिरमा घण्टी बज्दा पनि तर्सिनु पर्ने अवस्था रहेको बताएका छन् ।
भोजपुरमा शनिबार नेपाल तरुण दल भोजपुरले आयोजना गरेको कोशी प्रदेशअन्तर्गत तरुण दलका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै गुरुङले ठगहरूका कारण जनता तर्सिने कार्य भइरहेको बताए । उनले भने, ‘आज मन्दिरमा बज्ने घण्टीहरूले पनि कता कता तर्साइ रहेको हुन्छ ।’
‘कतै घण्टी बजाउने । कतै यो मुलुकमा बाईसपुतले ठगहरू, कुनै व्यापारीको घरमा हुने, सहकारीभित्र, कतै पसलभित्र छिरेर बिहानको टीका पनि हराउँछ’, उनले भने ।
अध्यक्ष गुरुङले भने, ‘घण्टीको नाममा विभिन्न ठगीहरू होस् । विभिन्न विद्वानहरू होस् या आफूलाई राजनीतिक विश्लेषक भन्नेहरूले सोसल मिडियाहरू प्रयोग गरेर नेपाली जनतालाई एकतर्फी रुपमा मुलुकका पुराना पार्टीहरूको विरुद्धमा, नेताहरूको विरुद्धमा एकतर्फी रुपमा गाली, जनतामा निराशता छाड्ने जुन प्रयासहरू भइरहेका छन् ।’
‘जसका कारणले हाम्रा युवाहरू आज विदेशिदै गर्दा हामी रोक्न सकि रहेका छैनौं । युवाहरूलाई बुझाउन सकिरहेका छैनौँ’, उनले भने, ‘मुलुकको आर्थिक स्थितिले गर्दा मुलुकलाई निकास दिन एमालेसँग मिलेर सरकार बनाएका छौँ ।’
‘हामीलाई लाग्न सक्छ । नयाँ उदयमान पार्टीको सभापतिलाई सहकारीको बहानामा पुराना दलहरूले रिसइबी साँध्दै पोखराबाट काठमाडौं काठमाडौंबाट भरतपुर, भरतपुरबाट रुपन्देही, रुपन्देहीबाट पर्सा, पर्साबाट फेरि काठमाडौं कतै रिसइबी साँधेको हो त ? भन्ने प्रश्न उठ्न सक्छ । होइन । यो कुनै पार्टीले सरकारले गरेको कुरा होइन । जब कसैले ठग्छ । जब पीडित पक्षले मुद्दा हाल्छ’, उनले भने, ‘न्यायापालिकामार्फत पक्राउ गरेर अनुसन्धान हुन्छ ।’
‘विभिन्न जिल्लाका सहकारीहरूमा रवि लामिछानेज्यूको ठगी प्रकरणमा संलग्नता देखिएको छ । रवि लामिछानेको श्रीमतीको नाममा रहेको खातामा रवि लामिछानेको खाताबाट २४ करोडभन्दा बढी पैसामा स्रोत देखिएको छैन’, तरुण अध्यक्ष गुरुङले भने ।
उनले भने, ‘हामीले विगतमा भनेका थियौँ । अमेरिकाबाट आफूलाई सबैभन्दा विद्वान भन्ने साझा पार्टीका रविन्द्र मिश्रहरूले लोकतन्त्रको विषयमा ठूला ठूला कुरा गर्दथे । तरुण दलले त्यस बेला आलोचना गरेका थियौँ । रविन्द्र मिश्रले राजाको वकालत गर्दै छन् ।’
‘रवि लामिछानेहरूले सोसलमिडिया प्रयोग गरेर जनतालाई जसरी भ्रम पारिएको छ तिनका विगत हेर्दा विदेशका विभिन्न बैंकहरूमा ठगीका कुरा भनेका थियौँ । नेपालका बैंक र सहकारी लुटिने छन् भनेका थियौं । आज तथ्य प्रमाणित भएको छ’, अध्यक्ष गुरुङले भने ।
अध्यक्ष गुरुङले विपतका बेला तरुण साथीहरूले क्षति भएका स्थानमा गएर जनताको सेवा गरेको भन्दै प्रशंसा गरेका छन् ।
‘जहाँ विपत त्यहाँ तरुण दल । त्यो हाम्रो नारा नै हो । हाम्रो कार्यकालमा देशका विभिन्न स्थानमा भएका विपतहरूमा तरुण दलका साथीहरू फिल्डमा खटिएका छन् । राहत सामग्री बुझाएका छौँ । घर, टहराहरू बनाएर बुझाएका छौँ । काभ्रे लगायतमा ८ सय वटा घर, टहराहरू बनाउन भनेका छौँ’, उनले भने ।
उनले मुलुकलाई निकास दिन दुई प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताएका छन् ।
गुरुङले मुलुकलाई निकास दिन र आर्थिक अवस्थाबाट माथि उठाउन कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए । उनले कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल हुँदाहुँदै पनि राष्ट्रहितका लागि मिलेको बताए ।
उनले भने, ‘कतिपय साथीहरूलाई लाग्न सक्छ । कांग्रेस र एमाले मिलेकै हो त ? होइन । यो मुलुकको कांग्रेसको प्रतिस्पर्धा पार्टी एमाले हो । एमालेको कांग्रेस नै हो ।’
‘आज मुलुकको परिस्थिति बेग्लै छ’, अध्यक्ष गुरुङले भने, ‘आज यो मुलुकमा केही विदेशी शक्तिहरू, नेपालका केही प्रतिगामी शक्तिहरू, हामीले ल्याएको व्यवस्थाप्रति, नेपाली जनताको खुसीप्रति, नेपाली जनताको शिर फुटाउनेहरूलाई यो व्यवस्था मन परेको छैन ।’
तरुण दलका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको भेला भोजपुरमा पहिलो पटक आयोजना भएको छ । भोजपुर तरुण दलले आयोजना गरेको भेलामा कोशी प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू सहभागी भएका छन् । दुई दिनसम्म हुने भेलामा संगठनका विषयमा छलफल केन्द्रित हुनेछ । साथै तरुणहरूले भ्रातृत्व र शुभकामना आदान प्रदानका लागि वनभोज कार्यक्रम पनि राखेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया