सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक

भरतपुर । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको बताएका छन् ।

चितवनको भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले भने, ‘कांग्रेस र एमालेबीचमा सहमति भएको छ, ०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।’ उनले दुई दलबीचमा कुनै समस्या नरहेको बताए । सरकार परिवर्तन हुने भन्ने हल्ला, हल्ला मात्रै भएको गृहमन्त्री लेखकले बताए ।

उनले राष्ट्रिय आवश्यकता र महत्वका मुद्दा सम्बोधन गर्न संसदका ठूला दल मिलेको बताए । अहिलेको सरकार सबै जनताको मानवअधिकार रक्षाका लागि सचेत रहेको लेखकले बताए ।

गृहमन्त्री लेखकले भने, ‘प्रत्येक नागरिकको मानवअधिकारको रक्षाप्रति सरकार सचेत छ । चाहे थुनामा रहेको होस्, चाहे हिरासतमा रहेको होस् । सबै नागरिकप्रति मानव अधिकारका विषयमा हामी सचेत छौँ ।’

गृहमन्त्री लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको बताएका छन् । उनले सरकारले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयन गरेको बताए ।

उनले कानूनअनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाएर अनुसन्धान प्रभावित पार्न नहुने बताएका छन् । सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै लेखकले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताए ।

Published : Sunday, 2024 December 15, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया