छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिनु हुँदैन : कांग्रेस प्रवक्ता डा.महत
वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ को समयमा निजी क्षेत्रलाई प्रवाह गरेको ऋण अहिले उठाउन समस्या भइरहेको बताएका छन् ।
आइतबार वीरगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले भने, ‘कोभिडको समयमा व्यापार, व्यवसाय सबै स्थिर भएकाले त्यो बेला खर्च गर्ने ठाउँ भएन । अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्रले पहिला लिएको ऋण तिर्न अहिले मुस्किल भइरहेको छ ।’
उनले भने, ‘अहिले पनि बैंक तथा वित्तीय संस्थामा जम्मा भएको पुँजी ऋणको रूपमा प्रवाह हुन सकिरहेको छैन । यसले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन सकिरहेको छैन ।’
डा.महतले सरकार र निजी क्षेत्र दुवैले प्रभावकारी र प्रतिफल दिने आयोजनामा मात्र लगानी गर्नुपर्ने बताएका छन् । वर्तमान सरकारले आर्थिक अनुशासन र राज्यको प्रथामिकतालाई ध्यानमा दिएर काम गर्नुपर्ने उनले बताए ।
उनले विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण तिर्न समस्या भइरहेकाले आवश्यकताका आधारमा मात्रै ऋण लिनुपर्ने बताए ।
पूर्वअर्थमन्त्री डा.महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने बताए । उनले भने, ‘विश्व बैंक, एसियन विकास बैंक (एडिबी)लगायत सस्तो ब्याजदरको ऋण सदुप्रयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्नुपर्छ ।’
उनले भने, ‘विभिन्न सर्त र प्रावधान राखेर लिने ऋण मुलुकको हितका लागि हुन्छन् वा हुँदैनन् त्यसतर्फ सचेत हुनु जरुरी छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया