कुनै बेला कांग्रेसको गढ चितवन गुमाउनुकाे एउटा कारण शिव पौडेल गुमाउनु पनि हो : विद्वान गुरुङ

भरतपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्व.शिव पौडेल जस्ता होनहार तरुणहरू गुमाएका कारण चितवन जिल्लामा नेपाली कांग्रेस कमजोर भएको बताएका छन् ।

मंगलबार नेपाल तरुण दल चितवनले भरतपुरमा स्व.शिव पौडेलको १३औँ स्मृति सभामा अध्यक्ष गुरुङले चितवन विगतमा कांग्रेसको बलियो गढ भएको बताए । चितवनमा कांग्रेस पराजित हुनुमा एउटा कारण शिव पौडेललाई गुमाउनु पनि भएको उनले बताए ।

अध्यक्ष गुरुङले भने, ‘चितवन जिल्ला कुनै बेला नेपाली कांग्रेसको गढ हो । आज हामीले चितवन जिल्लामा सबै क्षेत्रहरू गुमाउँदै गर्दा गएका निर्वाचनहरू हार्नुको पछडि चितवनको नेता शिव पौडेललाई गुमाएको एउटा कारण पनि हो ।’

‘सायद उहाँ भएको भए उहाँको पालमा चितवन तरुणमय थियो । युवाहरू जुन वडामा गए पनि हामीले तरुणलाई मात्रै भेट्थ्यौँ’, उनले भने, ‘यसको श्रेय स्व.शिव पौडेललाई जान्छ ।’

अध्यक्ष गुरुङले गठबन्धन गर्दा कांग्रेसलाई राष्ट्रिय राजनीतिमा फाइदा भए पनि चितवनमा बेफाइदा भएको बताए । उनले भने, ‘राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले परिस्थितिलाई हेरेर विभिन्न पार्टीहरूसँग समीकरण गरेका थियौं । गठबन्धन गरियो । गठबन्धन गर्ने क्रममा धेरै जिल्लामा हामीलाई फाइदा पनि भयो । पार्टी ठूलो पनि भयो । सबैभन्दा बढि क्षति हामीलाई चितवन जिल्लामा भयो ।’

‘दुई वटा निर्वाचनमा पनि हाम्रा नेता कार्यकर्ताले आफ्नो चिन्हमा मतदान गर्न पाएनौँ’, उनले भने, ‘यो विषयमा मैले पार्टीलाई दोष दिन चाहन्न । पार्टीले राष्ट्रिय रुपमा नै गठबन्धन गरेको थियो ।’

तरुण अध्यक्ष गुरुङले भने, ‘कथित जनयुद्धमा जुन पार्टीबाट महिला दिदीबहिनीहरूले आफ्नो श्रीमान् गुमाएका थियौँ । जसले आफ्नो परिवार गुमाएको थियो । त्यही पार्टीको उम्मेदवारलाई त्यहि चिन्हमा भोट हाल्ने इच्छा हामीलाई जागेन ।’

‘धेरै पटक कांग्रेसका कार्यकर्ताले आफ्नो चिन्हमा भोट हाल्न पाएनौँ । त्यस कारणले हामी आक्रोशित थियौँ’, उनले भने, ‘हामी असन्तुष्ट थियौँ । जसको फाइदा केही नयाँ पार्टीले जसले १२ वर्षको द्वन्द्वकालमा यो देश बस्न लायकको छैन विदेशमा गएकाहरू, जसले विदेशमा ठगी धन्दाहरू गरेर नेपालमा जब शान्तिवार्तामार्फत मुलुक शान्त हुँदै थियो ।’

गुरुङले भने, ‘यिनै ठगहरूले विभिन्न जिल्ला चाहर्दै थिए । जहाँ नेपाली कांग्रेसका नेता कार्यकर्ता धेरै असन्तुष्ट थिए यहिँबाट केही नयाँ पार्टीहरूले आफ्नो कर्मभूमि बनाएर सोसल मिडियामार्फत बनेका पार्टीहरूले आफूलाई घण्टीको रुपमा उतारेर नेपाली कांग्रेसको विरुद्धमा सामाजिक सञ्जालमा, हाम्रो पार्टीको नेताहरूविरुद्धमा जुन खालको विरोध गरियो, गएको निर्वाचनमा हामीले आफ्नो चुनाव चिन्हमा भोट हाल्न नपाउँदा त्यो भोटबाट यस्ता ठगहरूको पार्टी उदय हुन पुग्यो ।’

‘तिनै पार्टीका सांसद र सभापति आज विभिन्न काण्डमा जेलमा हुनुहुन्छ । तैपनि आज सडकमा भनिदै छ’, गुरुङले भने, ‘सरकारले पुराना पार्टीले प्रतिशोध साँधे । नेपाली कांग्रेस सरकारमा छ । कांग्रेसले कहिल्यै पनि प्रतिशोध साँध्न जानेको छैन । हुन सक्छ विभिन्न जिल्लामा घुमाउँदै गर्दा प्रतिशोधको भावना जाग्न सक्छ ।’

उनले भने, ‘एउटा पार्टीले देशभरिको सहकारीहरू ठग्दै गर्दा हाम्रा नागरिकहरू पीडित हुँदै गर्दा कानून बमोजिम देशभरि घुमाइएको छ । त्यो प्रतिशोध होइन, त्यो ठगमाथिको कारबाही हो ।’

उनले भने, ‘चितवन जिल्लाले नेपाली कांग्रेसको नेता गुमाएको छ । नेपाल तरुण दलले परिवारभित्रको सदस्य, जिल्लाको अध्यक्ष स्व.शिव पौडेललाई गुमाएको छ ।’

‘घटनाको भोलिपल्ट चितवन आएका थियौँ । हाम्रो बसमा केही थिएन । काठमाडौंको उपचारबाट केही हुन्छ कि भन्ने अपेक्षा गरेका थियौं’, अध्यक्ष गुरुङले भने ।

१३ वर्ष अगाडि एमालेको भ्रातृ संगठन युवा संघका केही गुण्डाहरूले जेलभित्र आक्रमण गरेर हत्या गरेका थिए । ती गुण्डाहरू माफी पाएर छुटेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, सहमहामन्त्री महेन्द्र यादव, नेता उदयशम्शेर राणा, चितवन कांग्रेसका नेता जीतनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2024 December 17, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया