कोठाभित्र १७ वर्षीया सरिताको शव, विश्वासको कोठामा मोबाइल फेला

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले १७ वर्षीया किशोरी सरिता तामाङको हत्या अभियोगमा २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको छ ।

धादिङको गजुरी गाउँपालिका वडा नं. ३ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. १४ खड्कागाउँ बस्ने गोरे रुम्बा तामाङको छोरा विश्वास तामाङलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

धादिङको गजुरी गाउँपालिका वडा नं. ९ घर भइ हाल काठमाडौंको नैकापमा विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सरितालाई विश्वासले हत्या गरेको अनुसन्धानका क्रममा खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विश्वासले सरिताको हत्याको स्वीकार गरे पनि भवितव्य भनेर प्रारम्भीक बयान दिएको प्रहरी भनाइ छ ।

सरिता काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १० सतुङ्गल खरिबोटस्थित वीरेन्द्र श्रेष्ठको घरमा भुइँतलामा सरिता डेरा लिएर बस्दै आएकी थिइन् । मंसिर २९ गते राति १२ बजेदेखि हराएकी सरिताको खोजीका लागि उनका दाइ नवीन रुम्बा तामाङले पुस १ गते प्रहरी वृत्त थानकोटमा हुलियासहित निवेदन दिएका थिए ।

अनुसन्धानका क्रममा पुस ३ गते दिउँसो ३ बजेतिर आफ्नै ठेराको कोठाभित्र बेडमुनि मृत अवस्थामा सरिताको शव भेटिएको विज्ञप्तिमा उल्लेख छ ।

घटनाको अनुसन्धानमा खटिएको प्रहरीले घटनास्थलको अध्ययन, विश्लेषण तथा विभिन्न प्रविधिको प्रयोग गरी अनुसन्धान गर्दा काठमाडौं महानगरपालिका वडा नं. १४ खड्कागाउँस्थित डेराकोटाबाट पुस ३ गते राति साढे ८ बजे विश्वास तामाङलाई पक्राउ गरिएको थियो । विश्वासको साथबाट मृतक सरिताको रियलमीको मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

Published : Thursday, 2024 December 19, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया