अख्तियारमा बयान दिँदै आएका प्रदीपले लाखौं सरकारी रकमबाट ज्याकेट ओढाइदिए
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निरन्तर बयान दिँदै आएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले केही सञ्चारमाध्यमलाई ‘ज्याकेज’सहितको विज्ञापन दिएर लाखौं रुपियाँ भ्याएका छन् ।
महानिर्देशक अधिकारीले कुन खुशीयालीमा केही सञ्चारमाध्यमहरूलाई ज्याकेट विज्ञापन दिएका हुन् प्रश्न उठेको छ । प्राधिकरणमा बेफजुलमा विज्ञापन वितरण गरेर लाखौं रकम उडाएको भन्दै महानिर्देशक अधिकारीको आलोचना भएको छ ।
महानिर्देशक अधिकारीसँग अख्तियारले झण्डै ४१ अर्ब घोटाला प्रकरणमा बयान लिएको छ । प्राधिकरणबाट अख्तियारले कागजपत्रहरू कब्जामा लिएर बयान लिँदै आएको छ । महानिर्देशक अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समेत संरक्षण गर्दै आएका छन् । मन्त्री पाण्डे र महानिर्देशक अधिकारीबीच पछिल्लो समय निकै हिमचिम बढेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको घोटाला, अनियमितता लगायतका विषयमा महानिर्देशक अधिकारीसँग अख्तियारले निरन्तर बयान लिएको छ । बयान दिएर हैरान भएका अधिकारीले मंगलबार प्राधिकरणको २६औँ वार्षिकोत्सवको अवसरमा ज्याकेट विज्ञापन वितरण गरेर लाखौं रुपियाँ बाँडेका हुन् ।
महानिर्देशक अधिकारीले आफ्नो गुणगान गाएर समाचार लेख्ने सञ्चारमाध्यमहरूलाई ज्याकेट विज्ञापन दिएको आरोप प्राधिकरणका कर्मचारीहरूले लगाएका छन् ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई खुशी बनाएर महानिर्देशक पद हत्याएका अधिकारीलाई अख्तियारले निकै तनाब दिएको छ ।
महानिर्देशक अधिकारीका विरुद्ध कुनै पनि विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गराउने सम्भावना छ । मुद्दा दर्ता भयो भने महानिर्देशक अधिकारी निलम्बनमा पर्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया