परराष्ट्रमन्त्री डा.राणाद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।
बिहीबार बिहान पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । परराष्ट्रमन्त्री डा.राणा कालीमाटीस्थित स्व.शाहको निवासमा पुगेर पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिएकी हुन् ।
परराष्ट्र सेवामा रहेकी शाह विक्रम संवत् २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् । शाह नेपालको प्रथम महिला राजदूत हुन् ।
सन् १९८८ राजा वीरेन्द्रले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरे । उनी राजदूत बन्ने पहिलो नेपाली महिलाको कीर्तिमानसमेत राख्न सफल भइन् । भारतमा राजदूतपछि सेवानिवृत्त हुनुअघि केही समय परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारी सम्हालिन् ।
बिन्दाश्वरी शाहको जन्म सन् १९३३ मा भारतको खर्साङमा भएको थियो । बिन्दाश्वरीका बुवा पद्मसुन्दर मल्ल तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका कारण देश छाड्न बाध्य भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया