कांग्रेसको अनुशासन र सिद्धान्तमा हिँडेपछि जथाभावी कार्य गर्न पाइँदैन : महालक्ष्मी उपाध्याय

जावलाखेल । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै सभ्य भाषामा आलोचना र अभिव्यक्तिहरू दिन पाइने बताएकी छिन् ।

शुक्रबार ललितपुरमा नेपाल निजामती कर्मचारी युनियन ललितपुरको ९औं अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यायले बोल्न पाइन्छ भनेर अनुशासन उल्लंघन गर्न नपाइने बताएकी छिन् । उनले इमान्दारिताका साथ राम्रोलाई राम्रो र खराबलाई खराब भन्नुपर्ने बताइन् ।

सह–महामन्त्री उपाध्यायले भनिन्, ‘यो पार्टीमा बोल्न पाइन्छ । साँच्चिकै बोल्न पाइन्छ । गलतलाई गलत भन्न पाइन्छ । राम्रोलाई राम्रो भन्नुपर्छ । तर, जथाभावी कार्य गर्न पाइँदैन ।’

‘त्यो पार्टीमा अनुशासन पनि हुनुपर्छ । पार्टीको अनुशासन र पार्टीको दायरा । पार्टीको सिद्धान्तमा हिँडेपछि त्यो पार्टीको मर्म र भावना के हो भन्ने कुरा पनि बुझ्न जरुरी छ’, उपाध्यायले भनेकी छिन् ।

कांग्रेसमा अभिव्यक्ति दिन पाइन्छ भन्दैमा जथाभावी अनुशासनहीन अभिव्यक्ति दिन नमिल्ने सह–महामन्त्री उपाध्यायले चेतावनी दिएकी छिन् ।

‘हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । सभ्य भाषामा गाली गर्न पाइन्छ । बिचारलाई अझै बढाउन पनि पाइन्छ’, कांग्रेस सह–महामन्त्री उपाध्यायले भनेकी छिन् ।

‘हामीमा धेरै समस्या के आइरहेको छभने अब जे पनि बोल्न पाइन्छ भनेर अरु कम्युनिस्ट पार्टीहरूले एकले अर्कालाई गाली गर्छन् । सत्तामा हुँदा चोचोमोचा मिलाउने’, उनले भनिन्, ‘सत्ताभन्दा बाहिरा जाँदा गालीगलौज र आलोचनामा उत्रिने ।’

नेतृ उपाध्यायले जनतालाई सुशासनको अनुभूति दिने दायित्व निजामती कर्मचारीहरूको रहेको बताएकी छिन् । उनले भनिन्, ‘नेपाल कर्मचारी युनियन र नेपाली कांग्रेस सन्दर्भमा शुभेच्छुक भ्रातृ संस्थाको हिसावले लामो आजसम्म लामो समयदेखि पार्टीको भावनामा, पार्टीको सिद्धान्त, पार्टीको आदर्शलाई बोकेर निजामती कर्मचारीहरू हिँडीरहनुभएको छ ।’

‘हामीले कुरा गर्दा पार्टीको आदर्श, सिद्धान्त, बैचारिक कुरा गरियो भने लोकतन्त्रमा हाम्रो मूल आधार हो । लोकतन्त्रमा हामी बाँचेका छौँ’, उपाध्यायले भनिन् ।

‘लोकतन्त्र नै हाम्रो संस्कार हो । हाम्रो बिचार हो । लोकतन्त्र हाम्रो बिचार र संस्कार हो भन्दै गर्दा लोकतन्त्रले के दिन्छ ? भन्ने प्रश्नमा लोकतन्त्रले समाजमा सुशासन दिन्छ’, उनले भनेकी छिन् ।

‘यो कर्मचारीको क्षेत्र भएको हुनाले कर्मचारीले जनतालाई प्रत्याभूति हुने गरी सुशासन कायम दिनु पर्छ । हुन त त्यो नेताको पनि जिम्मेवारी हो । हामी बिचारले एउटै छौँ’, उनले भनिन् ।

‘हामी नेतृत्वमा पनि छौँ । पार्टी पनि छ । शुभेच्छुक संस्था पनि छ । भ्रातृ संस्था पनि छ । समग्र क्षेत्रमा हाम्रो बिचार एउटै हो । हाम्रो बिचारले जनतालाई सुशासन दिने हो । जनतालाई लोकतन्त्रको अनुभूति दिने हो’, सहमहामन्त्री उपाध्यायले भनेकी छिन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू जीतजंग बस्नेत, मदनबहादुर अमात्य, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, बागमती कांग्रेसका सह–महामन्त्री ऋषिराम घिमिरे लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2025 January 3, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया