अनलाइन ठगीको धन्दा बढेपछि सीआईबीद्वारा सतर्क रहन अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले अनलाइन ठगीको धन्दा बढेको भन्दै सचेत रहने अनुरोध गरेको छ ।

विभिन्न प्रलोभनमा पारेर अनलाइनमार्फत ठगी हुने कार्य बढेपछि सीआईबीले सर्वसाधारणमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हालैमात्र पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौं रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । सीआईबीले अनलाइनबाट हुने प्रलोभनमा नपर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जालहरू फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक, वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारीहरू तथा आम सर्वसाधारणहरूलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गर्ने गरिएको पाइएको सीआईबीका प्रमुख (एआईजीपी) दीपक थापाले बताए ।

ठगीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको थापाले बताएका छन् । ठगीबाट बच्न अनुरोध गर्दै एआईजीपी थापाले विभिन्न सातबुँदे ध्यानाकर्षण पनि सार्वजनिक गरेको बताएका छन् ।

ई–सेवा खल्ती जस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरूको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटक–पटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग गर्नेहरूसँग सावधानी हुन सीआईबीका प्रमुख (एआईजीपी) थापाले आग्रह गरेका छन् ।

सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा ट्रान्सफर हुने भनी सजक पनि गराइएको छ ।

सामाजिक संजालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरू पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईलाई फाईदा हुने खालको ब्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्ने वित्तिकै युजर नेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सीआइबीले अनुरोध गरेको छ ।

अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साईटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरि नगरी सम्पर्कविहीन हुने अवस्थ समेत रहेको एआईजीपी थापाले बताए ।

यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी फोन नम्बरहरू सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरहरूबाट आएका फोन तथा मेसेजहरू नउठाउन तथा रिप्लाई नगर्न पनि सीआइबीले सबैमा अनुरोध गरेको छ ।

यस्ता किसिमका ठगीमा संलग्न व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान व्यूरो तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको एआईजीपी थापाले बताएका छन् ।

Published : Friday, 2025 January 3, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया