कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएका छौं : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयबाट लेखकले भर्चुअल बैठकमा लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रुपमा रहेको बताए । उनले सीमित स्रोतसाधनकाबीच गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘अहिले चुनौतीका रुपमा देखापरेका तीनवटै विषय एकअर्कासँग सम्बन्धित छन् । त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुस् ।’
गृह मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको लेखकले बताए । उनले भने, ‘हामीसँग शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी छ । विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्तिसुरक्षा हुनैपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया