मन्त्री राणाद्वारा प्राविधिकसहित बाग्दुला–मच्छी सडकमा पैदल यात्रा, स्तराेन्नति र कालोपत्रे हुने
विमल पोखरेल
प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठान जिल्लास्थित आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाग्दुला–मच्छी सडकखण्डको पैदल यात्रा गरेका छन् ।
आइतबार बिहान मन्त्री राणा प्राविधिकसहितको टोली लिएर बाग्दुला–मच्छी सडकको पदयात्रामा निस्किएको नेपाल तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेतले बताए । बस्नेतले भने, ‘मन्त्रीज्यूको निर्वाचन क्षेत्रमा पर्ने बाग्दुला–मच्छी सडकमा कालोपत्रे हुन लागेको छ । यो सडकप्रति मन्त्रीज्यू निकै सम्वेदनशील हुनुहुन्छ । कामको सुरुवात हुनुभन्दा अगाडि प्राविधिकसहितका व्यक्तिालाई लिएर आफै पैदल यात्रामा निस्कुन भएको हो ।’
पैदल यात्रामा मन्त्री राणासँग नेपाली कांग्रेस प्यूठानका नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थितिरहेको । यो सडकलाई मन्त्री राणाले बहुवर्षीय बनाएर बजेटसहित स्तरोन्नति र कालोपत्रेको काम अगाडि बढाइसकेका छन् । सडकको काम अगाडि बढाउन उनले सम्बन्धित निकायलाई दवाव दिँदै आएका छन् ।
बाग्दुला–मच्छी सडकको स्तरोन्नति र कालोपत्रे गर्नका लागि मन्त्री राणाले विकास निर्माणको कार्यको पहिलो सूचीमा राखेका छन् । मन्त्री राणाले पदयात्रा सुरु गर्नुभन्दा अगाडि भने, ‘बाग्दुला–मच्छी सडक निर्माणका लागि मैले नेतृत्व लिएको छ । यो सडकलाई जसरी पनि कालोपत्रे बनाइ छाड्छु । बजेट हालिसकेको छु । बहुवर्षीय पनि बनाएको छु ।’
नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले आफ्ना मतदाता र स्थानीयसंगको भेटघाटका लागि पनि पदयात्रा गरेको जनाएका छन् ।
मन्त्री राणाले बाग्दुला–मच्छी सडकको १२ किलोमिटर पैदल यात्रा गरेका छन् । उनले पैदल यात्राका क्रममा स्थानीयसँग पनि भलाकुसारी गरेका छन् ।
दाङको भालुवाङदेखि प्यूठानको बाग्दुला, ठूलाबेसी तथा बाग्लुङको भीगगिठे सडक निर्माणमा मन्त्री राणाले आफै पहल लिएर काम अगाडि बढाएका छन् ।
मन्त्री राणासँग सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तथा प्राविधिक टोलीसहितका कर्मचारीहरू छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया