विवादित र पावरफुल डा.ज्ञवाली लामो समयदेखि किन बकुलहर अस्पतालमा अड्डा जमाएर बसे ?

भरतपुर । चितवनको रत्ननगर नगरपालिकामा रहेको ‘बकुलहर रत्ननगर अस्पताल’का प्रमुख डा.मदन ज्ञवाली राजनीतिक शक्तिको आडमा लामो समयदेखि कार्यरत रहेको भन्दै कर्मचारीहरूले चिन्ता जनाएका छन् ।

अस्पतालमा उनी विगत ३० महिनादेखि अड्डा जमाएर बसेका छन् । लामो समयदेखि शक्तिको आडमा डा.ज्ञवाली किन अस्पतालमा बसेका हुन् प्रश्न उब्जिएको छ । डा.ज्ञवालीमाथि अनियमितताको आरोप पनि लाग्दै आएको छ । डा.ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा समेत थुप्रै उजुरहरू परेका छन् । अनियमिततामा संलग्न भएको आरोप डा.ज्ञवालीलाई छ ।

अस्पतालमा विवादमा परेपछि डा.ज्ञवालीलाई अन्यत्र सरुवा गरेर अर्को चिकित्सकलाई प्रमुख बनाएर ल्याउन कर्मचारीहरूले प्रयास गरिरहेका छन् । तर, डा.ज्ञवालीले एमालेका नेताहरूको नाम लिएर सरुवा रोकेर बसेको स्रोतको भनाइ छ ।

बाग्मती प्रदेशअन्तर्गतको स्वास्थ्य मन्त्रालयमा पनि डा.ज्ञवालीविरुद्ध अस्पतालकै कर्मचारीहरूले पटक पटक गुनासा र उजुरीहरू गर्दै आएका छन् । तर, गुनासोको सुनुवाई भएको छैन ।

डा.ज्ञवालीले एमालेका नेता समेत रहेका स्वास्थ्यमन्त्री किरण थापा मगर र एमालेको बाग्मती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाको नाम लिएर अस्पतालमा हालिमुहाली गरेको कर्मचारीहरूले आरोप लगाएका छन् । डा.ज्ञवालीले एमालेका नेताहरूको नाम लिएर बबाल गरेको आरोप छ ।

Published : Sunday, 2025 January 5, 5:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया