परराष्ट्रमन्त्री डा.राणाद्वारा काभ्रेका बाढीपहिरो प्रभावित गर्भवती र सुत्केरी महिलाहरूलाई राहत हस्तान्तरण

धुलिखेल । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ६ वटा पालिकाका बाढीपीडित गर्भवती तथा सुत्केरी महिलाहरूलाई राहतस्वरुप कम्मल (ब्लाङ्केट) वितरण गरेकी छिन् ।

शुक्रबार धुलिखेलमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा डा.राणाले बाढीपीडित गर्भवती तथा सुत्केरी महिलाहरूका लागि राहतका सामग्री वितरण गरेकी हुन् ।

सुरक्षित मातृत्व सञ्जाल महासंघ, नेपालले धुलिखेलमा राहत वितरणको कार्यक्रम राखेको थियो । कार्यक्रममा महासंघका तर्फबाट उपलब्ध गराइएका ब्लाङ्केट जिल्लाका १०९० जना गर्भवती तथा सुत्केरीहरूलाई वितरण गरिएको छ ।

यसवर्ष वर्षाका कारण घर बस्ती बगाउँदा अप्ठेरोमा परेका गर्भवती र सुत्केरीहरूका लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहात स्थानीय जनप्रतिनिधिमार्फत उपलब्ध गराइएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.राणाले आगामी दिनमा पनि गर्भवती र सुत्केरीहरूका लागि सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 January 9, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया