आमाले तपाईलाई जन्माउन र हुर्काउन के गर्नुभयो २ मिनट सोँची दिनुहोला : परराष्ट्रमन्त्री डा.राणा

धुलिखेल । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गर्भवती र सुत्केरी आमाहरूलाई सबैले सहयोग गर्नुपर्ने बताएकी छिन् ।

शुक्रबार सुरक्षित मातृत्व सञ्जाल महासंघ, नेपालले धुलिखेलमा काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित गर्भवती र सुत्केरीहरूका लागि ब्लाङ्केट वितरण कार्यक्रममा डा.राणाले मातृत्व र प्रश्रवपीडाको बेदना आफूलाई पनि अनुभव रहेको बताइन् । उनले आफ्नो घर, छिमेक लगायतमा गर्भवती र सुत्केरी आमा छन् भने उनीहरूलाई अभियन्ता बनेर सहयोग गर्न अनुरोध गरेकी छिन् ।

उनले भनिन्, ‘आधाभन्दा धेरै जनसंख्या महिलाको छ । अधिकांश महिलाहरू आमा हुनुहुन्छ ।’

‘आमा बन्ने बेलामा हाम्रो समाजले घरपरिवारले मात्रै होइन, सरकारले पनि सपोर्ट दिनुपर्छ भन्ने कुरामा आवाज उठाउँदै आएको हुँ’, डा.राणाले भनिन्, ‘म आफै पनि प्रश्रवपीडाबाट आएको हुँदा सुरक्षित मातृत्व सञ्जाल संस्थाको जन्म भएको हो ।’

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘आमाले तपाईलाई जन्माउन र हुर्काउन के गर्नुभयो भनेर तपाईहरूले दुई मिनट सोँची दिनु होला ।’

‘समुदाय र देशको लागि पनि एउटा नागरिक जन्मिरहेको छ । त्यो नागरिकको दायित्व पनि सरकारले लिनुपर्छ भन्ने आवाज हामीले उठाएर सेफ मदरहुड हरेक महिलो पाउनुपर्छ । यसमा सरकारले नै पैसा हाल्नुपर्छ’, डा.राणाले भनेकी छिन् ।

‘मेरो छोरा जन्मिने बेलामा धेरै लामो प्रश्रव भयो । म बाँच्छु की मर्छु, पेटको बच्चा पनि बाँच्छ की मर्छ भन्ने मेरो एउटा आभाष थियो । अनुभूति थियो । मलाई थाहा छ’, उनले भनिन् ।

‘म पाटन हस्पिटल थिएँ । मेरो वरीपरी सबै नातागोता थिए । त्यसपछि म यो अभियानमा लागे’, नेपाली कांग्रेसकी नेतृ समेत रहेकी डा.राणाले भनेकी छिन् ।

‘त्यो बेलादेखि म अभियागनमा लागेको हुँ । यो अभियानमा परिवर्तन एक्लैले गरेर हुँदैन । अभियन्ताको रुपमा म खडा भएँ’, उनले भनिन् ।

‘धेरै जना यो फिल्डमा काम गरिरहनुभएको साथीहरूले मलाई साथ दिनुभयो । हामीले संविधान लेख्दा सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्यको अधिकारहरू राख्न हामी सफल भयौं’, उनले भनिन्, ‘त्यसमा पुरुष साथीहरूले धेरै साथ दिनुभयो ।’

‘तपाईको घर वा छरछिमेकमा कोही गर्भवती छभने उसलाई राम्रो खान दिने, आराम गर्न दिने, स्वास्थ्य सेवा दिने ठाउँमा लगेर चेकअप गर्ने काममा सबै अभियन्ता भएर लागिदिनुस्’, डा.राणाले भनिन्, ‘महत्वपूर्ण मानिस जन्मिएको छभने सबैले सम्झिनुपर्छ ।’

परराष्ट्रमन्त्री डा.राणाले काभ्रेलाञ्चोकका बाढीपहिरो प्रभावित गर्भवती र सुत्केरी महिलाहरूका लागि राहत सामग्रीमा सहयोग गरेको भन्दै कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठलाई विशेष धन्यवाद दिएकी छिन् ।

उनले भनिन्, ‘बाढी र पहिराले गर्दा २३६ जनाले ज्यान गुमाउनुभयो । ८९ जना काभ्रेमा वित्नुभयो । १० वटा पक्की पुल भत्कियो । सयौं घरहरू भत्किएका छन् ।’

‘जलवायुबाट भएको क्षति हामीलाई कसले दिन्छ ? भनेर अन्तर्राष्ट्रिय अदालतमा उठाएको छु । यो कुरा स्थानीय तहबाट पनि उठाइदिनुस्’, डा.राणाले भनेकी छिन् ।

‘प्राकृतिक प्रकोपबाट बच्नका लागि उपकरणहरू खरिद गर्न स्थानीय तहसँग आग्रह गरेकी छिन् । प्रहरी विपत्तीका बेला तत्काल आउन कठिनाइ हुन सक्छ । स्थानीय तह पनि सर्तक अवस्थामा बस्नुपर्छ । जनचेतना पनि आवश्यक छ । सरकारले पनि पूर्वतयारी गरेको छ’, उनले भनिन् ।

‘सरकारले सूचना मोबाइलमा पठाएको थियो । हेरेर त्यसलाई खासै ध्यान दिइएन । हामी अभ्यस्त पनि छैनौँ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

Published : Thursday, 2025 January 9, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया