हेटौँडाको होटलमा युवकको शव फेला, कोठामा भेटिए विभिन्न पदार्थ
हेटौँडा । मकवानपुरको हेटौँडामा श्यामसुन्दर तिवारीले सञ्चालन गरेको चण्डिका होटलको २०१ नम्बर कोठामा २८ वर्षीय सरोज शाह मृत अवस्थामा फेला परेका छन् ।
मृत भेटिएका शाहको स्थायी ठेगाना मकवानपुरको राक्सिराङ गाउँपालिका–४ मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
हेटौंडा उपमहानगरपालिका–१०, बसर्पाकमा रहेको होटलमा शाह ९ दिनदेखि बस्दै आएका थिए । शाहको शव खाटमा पलेँटी कसेर बसेको अवस्थामै मुन्टो घोप्टो परेको स्थितिमा भेटिएको थियो ।
प्रहरीले शाह बस्ने कोठामा सानो प्लेटमा सिक्का पैसा, ड्रग्स जस्तो देखिने सेतो पदार्थ र ब्लेड फेला पारेको जनाएको छ । उनले मादक पदार्थ पनि सेवन गरेको जस्तो देखिएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
नाकबाट रगत बगेको अवस्थामा भेटिएका शाह बुधबार साँझ हेटौंडा–४ कमलडाँडामा मादकपदार्थ सेवन गरेर साँझ साढे ६ बजे होटलमा आइपुगेको प्रहरीले जनाएको छ ।
शाहको शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको एसपी खड्काले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया