कांग्रेस नेता बस्नेतको निधन, आर्यघाटमा दाहसंस्कार
काठमाडौं । नेपाली कांग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको निधन भएको छ ।
बुधबार राति काठमाडौंको गौरीघाटस्थित निवासमा बस्नेतको ९८ वर्षको उमेरमा निधन भएको हो । स्व. बस्नेतको प्रार्थिव शरीरमा कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाले बिहीबार पशुपति आर्यघाटमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन् । बस्नेतको निधनले कांग्रेसमा अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले बताएका छन् ।
बस्नेतले राणा शासन हटाउने २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाएका थिए । २०१५ सालको आम निर्वाचनमा पूर्व ३ नं. क्षेत्रबाट नेपाली कांग्रेसलाई निर्वाचित गराउन बस्नेत परिवारले ठूलो भूमिका खेलेका थिए ।
बस्नेत पञ्चायतकालमा सोलुखुम्बुको साविक चौलाखर्कमा जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । बस्नेत २०४९ को स्थानीय निर्वाचनमा चौलाखर्क गाविसको अध्यक्ष बनका थिए ।
बस्नेत नेपाली कांग्रेसको इतिहासका लेखक एवम् संविधान सभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेतको दाजु तथा पूर्वमन्त्री अम्बिका बस्नेतको काका पनि हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया