परराष्ट्रमन्त्री डा.राणाद्वारा कतार र इजिप्टसँग विपिन जोशीको रिहाइका लागि अपील
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेकी छिन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा र नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीबीच भएको शिष्टाचार भेटका विपिन जोशीको रिहाइका लागि कुटनीतिक पहल गरिदिन आग्रह गरेकी हुन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । हाल कतारमा रहेका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेशमन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने बताएका छन् ।
हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला, बालबालिका एवं नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपिन जोशीको पनि रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री डा.राणाले दुवै देशका सरकारलाई आग्रह गरेकी छिन् ।
गत बुधबार परराष्ट्रमन्त्री डा.राणाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी थिइन् ।
विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरुका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री डा.राणाले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया