माओवादी निकट अनलाइनको समाचारप्रति प्रतापपुर गाउँपालिका अध्यक्षको आपत्ति

काठमाडौं । नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादवले आफूले बोल्दै नबोलेको कुरा समाचार बनाएर प्रकाशित भएको बताएका छन् ।

माओवादी निकटको एक अनलाइनले हुलाकी राजमार्गका विषयमा शुक्रबार प्रकाशित समाचार कपोलकल्पित र झुट भएको उनले बताए ।

‘मैले बोल्दै नबोलेको कुरा समाचार भनेर प्रकाशित भयो । म न समाचार लेख्ने पत्रकार चिन्छु’, शुक्रबार प्रेस नाेट जारी गरेर यादवले भने, ‘न उनले मसँग कुनै विषयमा कुराकानी गरेका छन् ।’

हुलाकी राजमार्गको समाचारमा सांसद विनोद चौधरीको भूमिका शंकास्पद भन्दै समाचार प्रकाशित भएको थियो । समाचारप्रति उनले आपत्ति जनाएका हुन् ।

अध्यक्ष यादवले भने, माननीयज्यूले हुलाकी राजमार्ग र बुटवल नारायणगढ सडकखण्डका विषयमा निरन्तर बोलिरहनुभएको छ । छिटो यी आयोजनाहरू निर्माण हुनुपर्छ भनेर जिल्लामा र केन्द्रमा पहल पनि गर्दै आउनुभएको छ ।’

अध्यक्ष यादवले आफू र सांसद चौधरीबीच विवाद ल्याउन सुनियोजित रुपमा समाचार प्रकाशित गरिएको भन्दै आपत्ति जनाएका छन् ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले जिल्लाका सरोकारवाला निकायदेखि संघीय सरकारसँग पटकपटक हुलाकी राजमार्ग छिटो निर्माण सम्पन्न गर्न ताकेता गर्दै आएका छन् । चौधरीले संसदमा समेत यसका बारेमा आवाज उठाउँदै आएका छन् ।

Published : Friday, 2025 January 10, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया