पारालिम्पिकद्वारा सभापति देउवासँग आफ्नै खेल मैदानको माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालले पारालिम्पिक खेलाडीका लागि आफ्नै खेल मैदानको माग गरेको छ ।
शनिबार बुढानीलकण्ठस्थित निवासमा सभापति देउवासँग भेट गरेर कमिटीका पदाधिकारी र सदस्यहरूले आफ्नै खेल मैदानको माग गरेका हुन् । सभापति देउवालाई ५ बुँदे ज्ञापनपत्र बुझाएको राष्ट्रिय पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घलेले बताएकी छिन् ।
कमिटीले शारीरिक र अशक्त नागरिकहरूको हितमा विविध राष्ट्रिय तथा अन्ताराष्ट्रिय पाराखेलकुद गर्दै आएको छ ।
अध्यक्ष घलेले एउटा पारा रंगशाला सहित उचित खेल मैदानको माग गर्दै सभापति देउवालाई पारा खेलकुदमार्फत नेपालीले अन्तार्राष्ट्रिय मञ्चमा नेपालीलाई चिनाउने काम गरेको जानकारी गराएको बताएकी छिन् ।
पारालिम्पिक कमिटीका पदाधिकारीलाई जवाफ दिँदै कांग्रेस सभापति देउवाले सबै समस्याको समाधान हुने आश्वासन दिएका छन् । उनले कमिटीको मागको सुनुवाईका विषयमा आवश्यक कदम चालिने बताएको अध्यक्ष घलेले बताइन् ।
कमिटीका संयोजक ओमनाथ शिवाकोटीले राष्ट्रिय पारालिम्पिक कमिटी अन्तर्गत २२ वटा विविध पारा खेलकुद रहेको बताए । उनले नेपालको कुल जनसंख्याको १० प्रतिशत शारीरिक अशक्त नागरिकका लागि काम गर्दै आएको बताए ।
राष्ट्रिय पारालिम्पिक कमिटीसँग १० हजार पारा खेलाडी रहेका छन् । अहिलेसम्म ५० जनाभन्दा बढी खेलाडीले अन्तार्राष्ट्रिय क्षेत्रमा सहभागिता जनाइसकेका छन् ।
सन् २०२४ मा नेपालले पेरिस पारालिम्पिकमा काँस्य पदक प्राप्त गरेको थियो । तेक्वान्दोमार्फत पलेशा गोवर्धनले काँस्य पदक जितेकी थिइन् ।
राष्ट्रका लागि खेल्ने शारीरिक अशक्त खेलाडीका लागि विभिन्न समस्या रहेको जानकारी दिँदै टोलीले बुँदागत रूपमा रूपमा सभापति देउवालाई हामीसँग न रंगशाला छ न खेल सामग्री न त अन्य सुविधा भन्दै गुनासो गरेका थिए । कमिटीले हेटौँडामा छिट्टै एउटा रंगशाला बनाइदिन विशेष माग गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया